नागरिक उन्मुक्ति पार्टी(नाउपा)मा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसम चौधरीबिचको द्वन्द्व अहिले उत्कर्षमा छ। पतिपत्नीबिच चलेको यो द्वन्द्वका कारण थरुहट आन्दोलनको मुद्दाबाट जन्मिएको पार्टीको औचित्य समाप्त हुने चरणमा पुगेको टिप्पणी पनि हुने गरेका छन्।
टीकापुर घटनामा तीन तहकै अदालतबाट दोषी प्रमाणित भएका रेसम आफै भने सत्ता राजनीति गर्न योग्य छैनन्। सोही कारण कारागारमै रहेका बेला पत्नी रञ्जितालाई अध्यक्ष बनाएर नाउपा दर्ता गराएका थिए।
तर उनै रञ्जितासँग सम्बन्ध राम्रो हुन नसक्दा पार्टीकै औचित्यमाथि प्रश्न उठिरहेको छ। यसै कारण रेसमले बेलाबेला भावुक सुनिने गर्छन्।
बिहीबार मात्रै पनि उनले फेसबुकमा एक भावोत्तेजक स्टाटस राखेका छन्। उनले लेखेका छन्, ‘मेरो प्रसव पिडाबाट बगेको रगतको लाली लगाएर मुस्कुराउनेहरू हो ! अहिले ओठ सजिएको महसुस मात्रै गरेका छौ, यथार्थ होइन।’ तर उनले उक्त कुरा कसलाई भनेका हुन् प्रस्ट लेखेका छैनन्।
‘एक पटक लाली लतपतिएको चेहराको महसुस गर्नुस् त, यदि महसुस गर्न सक्नुभएन भने छिट्टै पोतिनेछ,’ रेसमले अगाडि लेखेका छन्।
प्रकाशित: १२ भाद्र २०८२ १८:३७ बिहीबार





