नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन्।
वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ठूलो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, संघीयता, समावेशिता र मौलिक हकजस्ता संवैधानिक अधिकारको संरक्षण गर्न राजनीतिक दलहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको औंल्याए।
सह-संयोजक नेपालले सामान्य परिवर्तनबाट संविधान नआएको स्मरण गराउँदै जनतालाई सुशासनसहितको प्रभावकारी सेवा प्रवाह गर्न सबै दल एकजुट हुनुको विकल्प नभएको सुनाए।
उनले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रलगायत सीमान्तकृत समुदायको अधिकार संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।
वर्तमान सरकारप्रति जनताको तीव्र आकांक्षा रहेकाले नागरिकको चाहनाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा उनले जोड दिए।
यसैगरी, सहसंयोजक नेपालले प्राकृतिक विपद् व्यवस्थापनमा राज्य थप संवेदनशील हुनुपर्ने धारणा राखे। गत भदौ १० गतेको भोटेकोसी बाढीका कारण हिमाली क्षेत्रमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले बेपत्ता नागरिकको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरे।
उद्धार र राहतका लागि सरकारले आफ्ना सम्पूर्ण स्रोतसाधनका साथै विभिन्न संघसंस्था र राजनीतिक दलहरूलाई समेत परिचालन गर्नुपर्ने उनको सुझाव थियो।
यसैबीच, उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सरकारसमक्ष माग गरेका थिए।
प्रकाशित: २७ भाद्र २०८३ १६:४१ शनिबार





