२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वकीय राखेर लूट मचाउने, हेलिकप्टर चढेरै राज्यकोष सक्ने ?'

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाह नेतृत्वको सरकारमाथि विभिन्न प्रश्न उठाएका छन्। सरकारको ६ महिने कार्यकाललाई लक्षित गर्दै उनले कर वृद्धि, महँगी, रोजगारी, स्वास्थ्य सेवा, सहकारी ठगी, संघीयता र सरकारी नियुक्तिसहितका विषयमा प्रश्न गरेका हुन्।

‘हामी सोध्छौँ’ भन्दै सामाजिक सञ्जालमा लेखेका राउतले सरकारले गरेका वाचा र कामबीच अन्तर रहेको आरोप लगाएका छन्। उनले दुईतिहाइ बहुमत प्राप्त सरकारलाई जनताले भोगिरहेका समस्याबारे जवाफ दिन आग्रह गरेका छन्।

राउतले शिक्षा, स्वास्थ्य र बिजुलीमा कर लगाइएको भन्दै जनतामाथि करको भार किन बढाइएको भन्ने प्रश्न गरेका छन्। गरिबले उपचार र सामान्य औषधिसमेत नपाउने अवस्था अन्त्य नभएको तथा अस्पतालबाट निकालिँदा सडकमा बच्चा जन्माउनुपर्ने अवस्थाबारे पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

त्यस्तै, विदेशबाट नेपालीलाई १०० दिनमा फर्काएर रोजगारी दिने र १२ लाख रोजगारी सिर्जना गर्ने वाचा कार्यान्वयन नभएको उनको आरोप छ। सहकारीमा बचत गरेको रकम फिर्ता र ठगीमा संलग्नमाथि कारबाही नभएको भन्दै उनले प्रश्न गरेका छन्।

महँगी, डिजेलको मूल्य, खाना पकाउने ग्यासको अभाव, किसानलाई मलखाद र सिँचाइको समस्या तथा सुकुम्बासी र व्यापारीमाथिको कारबाहीलाई पनि राउतले आलोचनाको विषय बनाएका छन्।

मधेशप्रति सरकारको व्यवहार, दलित तथा समावेशी प्रतिनिधित्व र संघीयताको कार्यान्वयनबारे पनि उनले प्रश्न उठाएका छन्। सरकारका ६३ नियुक्तिमा दलितको प्रतिनिधित्व शून्य रहेको उनको दाबी छ।

यस्तो छ प्रश्न:

रास्वपा/बालेन सरकारको ६ महिना !

अनेकौं वाचा गरेर, सबै भोट ठगेर, दुई-तिहाई बहुमत ल्याएका सरकारलाई

हामी सोध्छौंः-

१. जनतामाथि कर माथि कर किन ? शिक्षामा ५% कर, स्वास्थ्यमा कर, बिजुलीमा ५-१३% कर किन ? जताततै करको आतङ्कले जनता चुस्ने कहिलेसम्म ?

२. अस्पतालबाट लखेटिएर सडकमा बच्चा जन्माउनु पर्ने, गरीबले स्वास्थ्य उपचार र पारासिटामोल समेत नपाउने कहिलेसम्म ?

३. १०० दिनमा विदेशबाट फिर्ता बोलाएर रोजगारी दिने भनेको खै ? १२ लाख रोजगारी खै ?  

४. सहकारीमा भएको ठगीको रकम फिर्ता भएको खै ? ठगहरू पक्राऊ परेको खै ?

५. सुकुम्बासी धपाउने, व्यापारी भगाउने, किसानलाई सिचाईँमा १३% भ्याट लगाएर र मलखाद नदिएर मार्ने, जनतालाई सास्ती दिएर आत्मदाह गराउने कहिले सम्म ?

६. चावल, दाल, तेल, मासुको भाउ दोब्बर हुँदै महँगी किन ? १५२ रुपैयाँ पर्ने डिजेल २२५ सम्म किन ? दोब्बर मूल्यमा पनि ग्याँस सिलिन्डर छैन किन ?  

७. मधेशबाट सबै भोट 'क्लीन स्वीप' गरेर लिने तर मधेश विरोधी सरकार किन? मधेशीमाथि गोली चलाएर हत्या गर्ने, सेना लगाउने, मधेशलाईकुनै अधिकार र बजेट नदिने किन ?

८. दलित र समावेशी विरोधी सरकार किन ? बालेन सरकारको ६३ नियुक्तिमा शून्य (जिरो) दलित किन ? भोट चल्ने तर दलित पदमा अछूत हुने ?

९. बोर्डरमा  जनताको १०० रुपैयाँको केरा खोस्ने तर कमिशन लिएर तस्कर पोस्ने किन? जनताले प्रयोग गर्ने ११५ वटा छोटी भन्सार खारेज गर्ने तर तस्करलाई छूट दिने किन ?

१०. बिना घूस कुनै पनि सरकारी कार्यालयमा, प्रहरी र सिडियो अफिसमा, सरकारी वकील कार्यालयमा  काम नहुने चाहिँ हुँदैन ?

११. सरकारबाट नेपोबेबी, आफ्नै जाति (जातिवाद), आफ्नै नातागोता (नातावाद), आफ्नै पार्टीको मान्छेको मात्रै नियु्क्ति किन ? करोडौं पैसा लिएर कार्यालय प्रमुखदेखि राजदूत नियुक्ति किन ?

१२. भोट माग्ने बेलामा बलगर संघीयता भन्ने तर संघीयता खारेज गर्न र स्थानीय तहको अधिकार खोस्ने भित्रभित्रै षडयन्त्र किन ?

१३. सनकको भरमा धरपकड गर्ने, मिडिया धम्काउने, आलोचक थुन्ने, दंगा गराउने तानाशाही व्यवस्था र लफङ्गाहरूको राज किन ?

१४. आफ्नो मन्त्री सांसदको सम्पत्ति छानबिन गर्न नदिने, ईभी कर चुहावट गर्ने, करौडौं लिएर नियुक्ति गर्ने , ठग भ्रष्टाचारी भित्रयाएर सफाई दिने किन ?

१५. ट्याँट्याँ टूँ टूँ गर्दै लावालस्कर गर्ने, १२८ सल्लाहकार/स्वकीय राखेर लूट मचाउने, हेलिकप्टर चढेरै राज्यकोष सक्ने किन ?

प्रकाशित: २७ आश्विन २०८३ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App