१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीकै अगाडि सागरले भने- चुनाव गराउनु मात्रै ठूलो कुरा होइन

अभियन्ता सागर ढकालले चुनाव सम्पन्न गर्नु मात्रै निर्वाचन आयोग र सरकारको सफलता नहुने बताएका छन्।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशिला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफलमा बोल्दै ढकालले निर्वाचन प्रणालीमा सुधार नभई गरिने चुनावको अर्थ नहुने बताएका हुन्।

ढकालले आफूले दुई–तीन महिनाअघि नै विदेशबाट मतदान, ‘नो भोट’ र जिल्ला बाहिरबाट मतदानको विषयमा रिपोर्ट बुझाएको तर सरकारी निकायले जिम्मेवारी पन्छाएको गुनासो गरे।

ढकालले आफूहरूले बुझाएको प्रतिवेदनबारे फलोअप गर्दा सरकारी निकायहरूले एक–अर्कालाई देखाएर पन्छिने गरेको बताए।

उनले भने, ‘हामी फलोअपमा जाँदा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय देखाउँछ, गृहले निर्वाचन आयोग देखाउँछ, आयोगले आफू जिम्मेवार नभएको बताउँछ। आखिर यसको जिम्मेवार को हो ? प्रधानमन्त्रीज्यू, यसको जवाफ कसले दिने ?’

उनले सर्वोच्च अदालतले वर्षौंअघि विदेशबाट मतदान र ‘नो भोट’ को व्यवस्था गर्न आदेश दिइसकेको स्मरण गराउँदै सधैँ बहानाबाजी नगर्न आग्रह गरे। ‘सर्वोच्चले भनेको ७–८ वर्ष भइसक्यो, यो कहिले लागू हुने हो ? अहिले पनि नगरिए कहिले गर्ने ?’ उनले प्रश्न गरे ।

निर्वाचन आयोगले चुनाव गराउन सक्षम छौँ भन्नु मात्र ठूलो कुरा नभएको उनको तर्क थियो। ‘चुनाव त भएकै छ, तर फेरि जस्ताको तस्तै चुनाव गराउन किन हतार ? केही त परिवर्तन हुनुपर्‍यो। जेन-जी आन्दोलनको म्यान्डेट पूरा हुनुपर्‍यो,’ ढकालले भने।

उनले ७५ वर्षदेखि दलहरूले राजनीतिक स्थिरताको रटान लगाए पनि देशले विकास, सुशासन र समृद्धि नपाएको भन्दै पूर्वाधारका आयोजनाहरू ठप्प रहेकोमा आक्रोश पोखे।

छलफलका क्रममा ढकालले राजनीतिक दल र सरकारी कार्यालयहरूमा नेताको साटो जनताको तस्बिर राख्न चुनौती दिए।

‘पार्टीको भित्तामा एकपटक नेपाली जनताको अनुहार, कर्णाली र ताप्लेजुङको नागरिकको अनुहार राख्दिनुस्। प्रधानमन्त्री कार्यालयमा पनि जेन-जी आन्दोलनका सहिदहरूको फोटो टाँस्दिनुस्,’ उनले भने, ‘तब मात्र बैठक बसिरहँदा देश र जनतालाई सम्झिइन्छ। नत्र जस्ताको तस्तै चुनाव गराउन मात्र हामी बसेको जस्तो हुन्छ।’

प्रकाशित: ७ पुस २०८२ १७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App