नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकमा राजनीतिक चुनौतीसँगै देशको अस्तित्व, गणतन्त्र र संविधानमाथि समेत खतरा बढ्दै गएको बताएका छन्।
आइतबार स्वर्गीय मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले वर्तमान समयमा संविधानलाई समयानुकूल परिमार्जन गर्न सकिने भए पनि त्यसलाई राजनीतिक स्वार्थका आधारमा संशोधन गर्न नहुने बताए। उनले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिनेभएपनि संवैधानिक मापदण्ड र प्रक्रियामा अघि बढ्नुपर्ने बताए।
खनालले देश संकटतर्फ उन्मुख भइरहेको भन्दै राष्ट्रलाई मुक्त गर्ने जिम्मेवारी देशभक्त र वामपन्थी शक्तिको काँधमा रहेको बताए। विगतका कमजोरीबाट शिक्षा लिएर राष्ट्रियताको रक्षा, समाजवादको दिशामा अघि बढ्ने र वैज्ञानिक समाजवाद प्राप्तिका लागि सबै वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताए।
प्रकाशित: १४ असार २०८३ १५:३२ आइतबार





