राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङ तुल्सीपुरमा नेकपा (एमाले)को चुनाव चिह्न 'सूर्य' अंकित झन्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शङ्कर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गरेका छन्।
'लाखौं जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुऱ्याउने गरी 'सूर्य' चिह्न अंकित झन्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घट्नाले पुष्टि गरेको छ। र, यो अराजकता, उद्दण्डता र अपराधिक घटनाको नेकपा (एमाले) घोर भर्त्सना गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका नाराबाजीसहित महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य हो।'
एमालेले फागुन २१ को चुनाव 'देश जलाउने र बनाउने' बिचको जनमत सङ्ग्रह हो भनिरहेकै बेला उनै देश जलाउनेहरूले देश बनाउने नारा अघि सारेको एमालेको आस्थाको पुञ्ज 'सूर्य' ध्वजावाहक झन्डा जलाएको घट्ना संयोग मात्रै नभएको बताएको छ।
प्रचार संयोजक शाहीले देश जलाउनेहरूबाटै आज नेकपा (एमाले) को चुनाव चिह्न 'सूर्य' अंकित झन्डा जलाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको बताए। दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको उनले बताए।
निर्वाचन आयोगले सम्बन्धित दललाई तत्कालै प्रष्टीकरण लिई उनीहरूको जवाफ सार्वजनिक गर्न एमाले जोड्दार माग गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 'यदि झन्डा जलाउने दल र त्यसका कार्यकर्ताहरू माथि कानुनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र घट्नाको जिम्मेवार सरकार, निर्वाचन आयोग र झन्डा जलाउने दल रास्वपा हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,' शाहीले भने।
प्रकाशित: ८ फाल्गुन २०८२ १४:५० शुक्रबार





