गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन्।
उनले गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए।
सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उनले आग्रह समेत गरेका छन्।
जेनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए। तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन सम्बन्धित सबै पक्षसँग गरेका छन्।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्नेतर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने विषयमा जोड दिए। कृत्रिम बौद्धिकता, इन्टरनेटलगायतको प्रयोगबाट हुनसक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायलाई सचेत गराउनुपर्ने उनको भनाइ रहेको थियो।
प्रकाशित: २५ पुस २०८२ ११:४४ शुक्रबार





