१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

यस्तो छ भोलिको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

सङ्घीय संसद् सचिवालयले शुक्रबार आह्वान गरिएको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। महासचिव पद्मप्रसाद पाण्डेद्वारा हस्ताक्षरित कार्यसूचीअनुसार विभिन्न विधेयक प्रस्तुत गर्ने तथा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने कार्यक्रम तय गरिएको छ। बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३’ प्रतिनिधिसभामा पेस गर्नेछिन्।

त्यसैगरी, कानूनमन्त्री गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै विधेयक सदनमा दर्ता गर्ने कार्यसूची रहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ।

यस्तै, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गर्नेछिन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ।

बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरूलाई पनि टुंगो लगाउने तयारी गरिएको छ। अर्थमन्त्री डा. वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्दै विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष राख्ने कार्यसूची रहेको छ।

 

प्रकाशित: ११ असार २०८३ १८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App