२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनपछि यसरी सुनिए ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक शनिबार औपचारिक कार्यक्रममा सार्वजनिक भएका छन्। भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघद्वारा आयोजित ‘बडादसैंको अवसरमा खुला भेटघाट’ कार्यक्रममा ओली पत्नी राधिका शाक्य र पार्टीका विभिन्न नेतसहित उपस्थित भएका हुन्।

कार्यक्रममा ओलीले नेपालमा विषम परिस्थिति आएको बताए। उनले देशको विकास र समृद्धिको कुरा गर्दा आफूहरूमाथि प्रहार भएको बताए। एमाले नेतृत्वमा बनेका सरकारले सधैं राम्रा काम गरेको दाबी गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर, अनेक प्रकारका जाल गरेर, झुट बोलेर मुलुकमा विषम अवस्था ल्याइएको बताए।

मुलुकमा भ्रष्टाचार र कुशासन अन्त्यका लागि जेनजीले आन्दोलन गरेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गरे। ‘मैले प्रधानमन्त्री भएको दिनमा नै म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ भन्ने नारा लगाएँ,’ ओलीले भने, ‘जुन अहिलेसम्म कायम छ, मैले आफूले पनि भ्रष्टाचार गरिनँ अरुलाई पनि सकेसम्म गर्न दिइनँ । फेरि गर्दिनँ, गर्न पनि दिन्न।’

ओलीले वर्तमान सरकार संवैधानिक बाटोबाट नभएर तोडफोडबाट आएको बताउँदै यो सरकारलाई आफूले कुनै गलत गरेको भए बाहिर ल्याउन चुनौती दिए। उनले आफूले गरेका काम सबै रेकर्डेड भएको दाबी गर्दै खोट देखाउन चुनौती दिएका हुन्। ‘अहिलेको जेनजी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट, जनताको अभिमतबाट बनेको होइन,’ ओलीले भने, ‘यो तोडफोड र आगजनीबाट बनेको हो।’

उनले एक प्रसंगमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश भाग्ने भन्ने कुरा अफवाह मात्रै भएको बताए। ‘अहिले सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। नेताहरूको पासपोर्ट रोक्ने रे, के ठानेको छ सरकारले?’ ओलीले प्रश्न गर्दै भने, ‘ हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं?’ दलहरूले नै यो देश बनाउनुपर्ने बताउँदै उनले भने, ‘फेरि पनि यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं। देशलाई फेरि सुशासनमा ल्याउँछौं, शान्ति सुव्यवस्थामा ल्याउँछौं।’

ओलीले जेनजी आन्दोलनका क्रममा आफूले गोली हान्न आदेश नदिएको दाबी गरे। आरोप लगाइएजस्तो आफूले गोली हान्न आदेश नदिएको बताउँदै उनले कार्यकर्तालाई आश्वास्त पारेका हुन्। ‘बालुवाटारमा सोधेर बसिराखेको थिएँ, क्याजुअल्टी नहोस्, कामना गरेर बसिरहेको थिएँ। गोली चल्यो भन्ने सुनेपछि गोली चलाउने तहमा कसरी पुग्यो? मैले सोधेको छु,’ ओलीले भने, ‘पछि मैले सुनें १४ जनाको मृत्यु भयो। मैले सुनें टाउकोमा र छातीमा गोली लाग्यो। यो कसरी भयो? हाम्रो सुरक्षाकर्मीले टाउकोमा, छातीमा गोली हान्दैन।’

त्यो दुखद घटनाबाट आफू अत्यन्त मर्माहत भएको पनि उनले बताए। ‘म आफैं दुःखी भएको छु। न्यायिक आयोग बनाएर छानबिन गराउँछु भनेको थिएँ,’ उनले भने। उनले आन्दोलनका क्रममा भएको हिंसा र ध्वंसपछि आफ्नो हातमा केही पनि रहेन भन्ने थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए। ‘प्रधानमन्त्रीले न गोली चलाउन आदेश दिन्छ, न थाहा पाउँछ,’ उनले भने।

ओलीले अहिले पनि सामाजिक सञ्जालमा आफूविरुद्ध आतंक फैलाउने काम भइरहेको दाबी गरे। ‘अहिले तपाईंहरुले सामाजिक सञ्जालमा देख्नुभएको होला, केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ,’ ओलीले भने, ‘यति मिनेटमा गाडीमा पुगिन्छ। सबै हमला गर्न जाऔं।’

यसै क्रममा उनले प्रश्ने गरे, ‘सरकार के हेरेर बसेको छ? के गर्दैछ?’ उनले सरकार सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, नेताहरूमाथि मुद्दा लगाउँछु भनेर धाक लगाएर बसेको आरोप लगाए। उनले अगाडि भने, ‘सरकारका केही कर्तव्य हुन्छन् कि हुँदैनन् म सोध्न चाहन्छु? सरकारमा हुनेहरुले सुरक्षा दिनुपर्छ कि पर्दैन?’

आतंक फिँजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्न भन्ने सरकारको तरिका ठिक नभएको ओलीले बताए। ‘मौसम सधैं एकनास हुन्न, फेरि वसन्त आउँछ,’ उनले भने।

ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका छन्। उनले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो छवि कायम गर्नुपर्ने बताए। भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन लगायत जेनजीका मागप्रति समर्थन जनाउँदै उनले भने, ‘भदौ २३ र २४ मा जेनजी आन्दोलनमा उनीहरूलाई पाखा लगाएर घुसपैठ भयो। नयाँ पुस्ताले राष्ट्रिय झण्डा ओढेर सिंहदरबारमा आगो लगाएको होइन।’

ओलीले देशलाई सही दिशामा फर्काउने दायित्व एमालेकै भएको दाबी गरे। ‘घर जले एउटा परिस्थितिमा, कतिपय ठुलो क्षति भयो तर हरेस नखान म नेकपा एमालेका कार्यकर्तालाई आग्रह गर्न चाहन्छु,’ ओलीले भने, ‘एमालेले नै हो यो देशलाई फेरि सही दिशामा फर्काउने हो।’ उनले संयम राख्न पनि आग्रह गरे।

ओलीले आफूविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका जेनजी पुस्तालाई आवेगमा नआउन पनि आग्रह गरे। उनले युवालाई कसैको उक्साहटमा लागेर देशको सम्पत्ति नष्ट गर्ने र हिंसाको बाटोमा नलाग्न सल्लाह दिए। ‘जेनजी घरैपिच्छे छन्, घरघरमै छन्। केही भाइबहिनीहरू संगठित हुनुभएको छ तर केहीलाई गुमराहमा पनि राखिएको छ,’ ओलीले भने, ‘तपाईंहरू भर्खरको हुनुहुन्छ, धेरै बाँच्नु छ। यसरी नै आगजनी र तोडफोड गर्दै जाने हो भने खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ?’

उनले युवालाई देश निर्माणमा लाग्न आग्रह गर्दै भने, ‘तपाईंहरू आवेगमा आउने होइन।’ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी नेतृत्वको सरकार ढलेको थियो।

कार्यक्रममा ओलीलाई उनका समर्थकहरूले ‘आई लभ यु’ को नाराले स्वागत गरेका थिए। उत्साहित कार्यकर्ताको नारा सुनेर ओलीले मुस्कुराउँदै हात हल्लाएर अभिवादन गरेका थिए।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतले जनेजी आन्दोलन विदेशी शक्तिहरूको डिजाइनमा भएको दाबी गरे। उनले नयाँ पुस्ताको दिमागमा विष भरेर देशलाई प्रतिशोधको राजनीतिमा धकेल्ने गम्भीर षड्यन्त्र भइरहेको सुनाए। उनले ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिँदासम्म देशका प्रमुख संरचनाहरू सुरक्षित रहेको तर राजीनामा दिएपछि सुनियोजित रूपमा आगजनी र तोडफोड सुरु भएको दाबी गरे।

सुदनद्वारा संयमता अपनाउन आग्रह

यसैबिच ‘हामी नेपाल’का अध्यक्ष एवं जेनजीका अगुवा सुदन गुरुङले जेनजी पुस्तालाई हिंसाको बाटो त्यागेर संयमता अपनाउन आह्वान गरेका छन्।

उनले शनिबार सामाजिक संजालमार्फत हिंसा जस्स्ता गतिविधिले सकारात्मक परिवर्तनको आन्दोलनलाई नै ओझेलमा पार्ने बताउँदै यस्तो आह्वान गरेका हुन्। केहीदिन देखि टिकटकलगायत सामाजिक सञ्जालमा ‘एक्स्पोज झोले’ ट्रेन्डको नाममा केही प्रयोगकर्ताले असोज ११ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आक्रमण गर्ने भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाएका थिए। यही हल्लालाई लक्षित गरेर गुरुङले यस्तो आह्वान गरेको बुझिएको छ। उनले लेखेका छन्, ‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ तर हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान होइन। यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठुलो क्षति पुर्‍याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्।’

गुरुङले युवा ऊर्जालाई सडकको अराजकताभन्दा निर्वाचनमार्फत सकारात्मक परिवर्तनमा लगाउनुपर्नेमा जोड दिएका छन्। ‘निर्वाचनको मिति तोकिएको छ। त्यो नै हाम्रो शक्ति, हाम्रो एकता, र हाम्रो दृष्टि देखाउने अवसर हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो आन्दोलन आशाको हो घृणाको होइन, निर्माणको हो विनाशको होइन। सम्पूर्ण देशलाई देखाऔं जेनजीले क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ।’

प्रकाशित: १२ आश्विन २०८२ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App