२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बाबुरामले ७ वर्षअघि नै त्यागेका थिए २९ जनाको सुरक्षा घेरा

पाँच जना पूर्वप्रधानमन्त्रीले नियमविपरीत लिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार

सरकारले पाँच जना पूर्वप्रधानमन्त्रीहरूले कार्यविधि विपरीत राखेका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेसँगै उनीहरुको सुरक्षमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी फिर्ता भएका छन्।

गृह मन्त्रालयले हाल पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा रहेका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाएको हो। तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने ७ वर्षअघि नै आफूले पाएको कार्यविधि विपरीत सुरक्षा घेरा त्यागेर कार्यविधिअनुसार नै सुरक्षाकर्मी राखेको पाइएको छ।

डा. भट्टराईले २०७४ चैत २९ गते नै आफूलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइएको २९ जनाको सुरक्षा टोलीलाई औपचारिक कार्यक्रम गरी बिदाइ गरेका थिए।

तत्कालीन समयमा उनको सुरक्षाका लागि नेपाल प्रहरीबाट प्रहरी निरीक्षक चन्द्र केसीको नेतृत्वमा १० र सशस्त्र प्रहरीबाट निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा १९ जना गरी २९ जना सुरक्षाकर्मी तैनाथ थिए।

यो संख्या हालको कार्यविधिले तोकेको (१५ सशस्त्र र २ नेपाल प्रहरी गरी १७ जना) भन्दा पनि १२ जनाले बढी थियो। जुन उनले स्वैच्छिक रूपमा त्यागेका थिए।

शान्ति प्रक्रियामा आएदेखि करिब १२ वर्षसम्म सुरक्षा घेरामा रहेका डा. भट्टराईले विशालनगरस्थित आफ्नो निवासबाटै सुरक्षाकर्मीहरूलाई धन्यवादसहित बिदाइ गरेका थिए।

त्यतिबेला आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘विभिन्न कालखण्डमा निजी सुरक्षामा खटाइइएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अफिसर र जवानहरूलाई सधन्यवाद बिदाइ गर्दै ! लामो समय निकट रहेपछि औपचारिक सम्बन्धहरू पनि निजी र भावनात्मक सम्बन्ध बन्दा रहेछन् ! यी कर्तव्यपरायण सुरक्षाकर्मीहरूको सधैँ भलो होस् र राष्ट्रसेवामा निरन्तर लागिरहून् !’

डा. भट्टराईको सचिवालयले पनि उनले २०७५ वैशाख १ गतेदेखि नै सीमित सङ्ख्याबाहेकका सुरक्षा सवारी र सुरक्षाकर्मी फिर्ता गरेको स्मरण गराएको छ।

प्रकाशित: २५ आश्विन २०८२ १६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App