नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले बालेन्द्र शाह सरकार जनतालाई मार्ने गरी अगाडि बढिरहेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको मुख्य जिम्मेवार सरकार रहेको बताए।
उनले भने, ‘यो हत्याको जिम्मेवार बालेन्द्र सरकार हो, बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई मार्ने गरी अगाडि बढिरहेको छ।’
यस्तै, उनले गृहमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकार स्टन्टमा मात्र केन्द्रित भएको आरोप लगाए।
‘हिजोअघि त्यहाँ केही मान्छेहरूले भन्दै हुनुहुन्थ्यो हिजो रातभरि त्यहाँ गृहमन्त्री आउनुभयो, यहाँ बस्नुभयो भन्दै हुनुहुन्थ्यो,’उनले भने, ‘स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्यो। स्टन्ट बन्द गर्नुपर्यो।’
यो घटनाको मुख्य जिम्मेवार सरकार रहेको औँल्याउँदै उनले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाए।
प्रकाशित: २६ असार २०८३ १४:४५ शुक्रबार





