२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

‘अँध्यारो दिन फर्काउन हाजिर गर्छन्, भत्ता पड्काउँछन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति सुव्यवस्था खलबल्याउन तमाम शक्ति लागेको बताएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार उनले भने, ‘देशमा शान्ति सुव्यवस्था खलबलियोस् भन्ने, देशलाई प्रतिगमनतिर लैजान चाहने, देशलाई राजतन्त्रतर्फ लैजाने शक्तिहरू हाबी हुन खोजेका छन्।’

राणाहरूले मौका पाउँदा जे गरे राजाहरूले मौका पाउँदा पनि त्यही गरेको उनले बताए। ‘राजाहरूले पनि मौका पाउँदा गरेकै हुन्। २०१७ साल लगाएकै हुन्। २०५८ सालको दरबार हत्याकाण्ड भयो, त्यसपछि जनताका अधिकार खोसेर, नेतालाई थुनेर, मुद्दा लगाएर, निर्वाचित प्रधानमन्त्रीलाई हटाएर, २०१७ सालका जस्तैजस्तै घोषणा, क्रियाकलाप गरेको हामी सबैले देखेका छौं। त्यस्तै अँध्यारा दिन फर्काउन केही शक्ति लागेका छन्,’ उनले भने, ‘हामी सबै मिलेर ती शक्तिलाई परास्त गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित ‘नयाँ भनिएका दल’ले देशमा अराजकता मच्चाउन भ्रम छरिरहेको आरोप लगाए। ‘केही तत्त्व देशमा अराजकता मच्चाउन कुदिराख्या छन्। आम जनतालाई नयाँ शक्ति हौं भनेर भ्रममा पारिराख्याछन्। भवितव्यले खुलेका पार्टी नयाँ त हुने नै भए, जसको कुनै योगदान छैन,’ उनले भने।

जसको आफ्नो योगदान हुन्न उसलाई देशको र व्यवस्थाको माया पनि नहुने उनले बताए। ‘हामी आजको स्थितिमा पुग्न संघर्ष गरेका छौं, त्याग गरेका छौं, बलिदान गरेका छौं। धेरै सहिद बनेका छन्। अंगभंग बनेका छन् मान्छेहरू,’ उनले भने।

संघर्षका दिनमा कोही भूमिगत भएको, कोही जेलनेल बेहोरेको र लामो संघर्षबाट अहिलेको लोकतन्त्र आएको प्रधानमन्त्री ओलीले बताए।

‘ठुलो क्षतिबाट डेमोक्रेसी ल्याइएको हो, अन्धकार युगबाट देशलाई आजको दिनमा ल्याइएको हो। त्यसकारण जसले संघर्ष गरेर आए उसलाई देश र व्यवस्थाको माया छ, जोगाउन चाहन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘जसले संघर्ष गरेको होइन, जसले यो समय आउन दिन चाहेका थिएनन्। उनीहरूले लोकतन्त्र सिध्याउन चाहेका छन्। उनीहरू देशलाई बर्बाद बनाउन चाहन्छन्। उनीहरू संसद्मा आएझैं गर्छन्, हाजिर गर्छन्, भत्ता पड्काउँछन् अनि बाहिर जान्छन्। उनीहरूलाई यो व्यवस्था अत्यन्तै अप्रिय लागेको छ। हामी भन्छौं– यो व्यवस्था कायम रहन्छ, कायम राखिनेछ। यो अझै सुदृढ भएर अगाडि बढ्नेछ, बढाइनेछ। यो नेपाली जनताले बलिदान दिएर, लडेर ल्याएको व्यवस्था हो।’ प्रधानमन्त्री ओलीले अहिले प्रहरीका भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको दाबी गरे। उहिलेको अवस्था हेर्दा अहिले प्रहरीको अवस्थामा धेरै सुधार भइसकेको उनले बताए।

मधेस प्रदेश सबभन्दा बढी पीडित भएको उनले बताए। ‘यहाँ खुला बोर्डर छ। सजिलो गरी ड्रग्स भित्रिने र बालबालिका र युवाहरू फसाइने क्रियाकलाप भइरहेको छ,’ उनले भने, ‘यहाँ असहज स्थिति देखिएको छ।’

यस्तै भन्सारबाट उठ्नुपर्ने जति राजस्व नउठेको देखिएको छ। उनले भने, ‘खुला बोर्डरको दुरूपयोग गरेर नाजायज फाइदा उठाउनेलाई रोक्नुपर्ने अवस्था छ। मधेस प्रदेशमा केही सिकायत आइरहेको बताउँदै निर्दोष फसाइने, दोषी उम्काउने किसिमका विषयमा प्रहरीले सचेत हुनुपर्ने उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दीपक थापाले नयाँ प्रशासकीय भवनसँगै प्रहरीको कामकारबाहीमा पनि नयाँ ऊर्जा थपिएको बताए। ‘प्रधानमन्त्रीज्यूको मार्गदर्शनले प्रहरीलाई हौसला मिलेको छ,’ उनले भने, ‘अझ सशक्त र पारदर्शी भएर प्रहरीको कामकारबाही अघि बढ्छ, बढ्नुपर्छ।’

कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले मधेस प्रदेशका सुरक्षा चुनौती र प्रहरी अभावबारे प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका थिए। मधेस प्रदेशको मुख्य चुनौतीमध्ये लागुऔषध ओसारपसार प्रमुख रहेको जानकारी गराएका थिए। उनले प्रहरीको करिब तीन हजार पाँच सय संख्या थपिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।

प्रहरी समायोजन होस्: मुख्यमन्त्री

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रहरी समायोजन नहुँदा प्रभावकारी रूपमा काम गर्न नसकिएको गुनासो गरेका छन्। मुख्यमन्त्री सिंहले संघीयताको मूल मर्म अनुसार प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम प्रभावकारी नभएको बताएका हुन्। ‘प्रहरी प्रदेश सरकारको मातहत नहुँदा व्यवस्थित रूपमा काम गर्न सकिनँ,’ उनले भने, ‘प्रहरी समायोजनपछि थप प्रभावकारी रूपमा प्रहरी र मधेस सरकारले काम गर्छ।’

मधेस सरकारकै २१ करोडको प्रदेश प्रहरीको प्रशासकीय भवन बनेको र यसलाई प्रहरी समायोजनपछि प्रदेश प्रहरीको हेडक्वार्टरसमेत बनाइने मुख्यमन्त्री सिंहले बताए।

सरकारले मधेसलाई सुक्खा क्षेत्र घोषणा गरे पनि जनताको अपेक्षाअनुसार राहत दिन नसकेको भन्दै संघीय सरकारलाई विशेष प्याकेज उपलब्ध गराउन उनले अनुरोध गरे। ‘मधेसमा विशेष प्याकेजको आवश्यकता छ। म संघीय सरकारसँग विशेष प्याकेज माग गर्छु,’ उनले भने, ‘चुरे जोगाउन अपिल पनि गर्न चाहन्छु।’

सुनकोसी मरिन डाइर्भसनको काममा तीव्रता दिलाउन प्रधानमन्त्रीको मुख्यमन्त्री सिंहले ध्यानाकर्षणसमेत गराए।

यसैबिच प्रधानमन्त्री ओलीले शुक्रबार नै महोत्तरीको सोनमामा कालोपत्र सडकको शिलान्यास गरेका छन्। विश्व बैंकको अनुदान ऋण १९ करोड सात लाख ८३ हजार ६ सय १८ रूपैयाँमा २०८३ चैत ११ गतेसम्म ८.३८४ किलोमिटर सडक निर्माण गर्ने सम्झौता भएको सडक प्रधानमन्त्री ओलीले शुक्रबार शिलान्यास गरेका हुन्।

महोत्तरीको हुलाकी राजमार्गमा प्रधानमन्त्री ओलीले शिलान्यास गरेको रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर ८.३८४ किमी कालोपत्र सडकले सोनमा गाउँपालिका–३ को रघुनाथपुरबाट सुरु भई सोनमा गाउँपालिकाको केन्द्रसँगै वडा १, २, ३ र ७ का रघुनाथपुर, सोनमा, तरहारी, मुसहरी टोल हुँदै सुन्दरपुरसम्म पुग्ने पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेशलाल कर्णले बताए।

विश्व बैंकको अनुदान ऋण ३४ करोड ६९ लाख ५० हजार ६१६ बजेटको टेन्डर हुँदा ढुकुछु निर्माण कम्पनी प्रालिसँग १९ करोड ७ लाख ८३ हजार ६१८ रूपैयाँ (भ्याटसहित) को बजेटमा सम्झौता भएको छ।

सडकको कुल लम्बाइ ८.३८४ किलोमिटर रहेको छ भने औसत चौडाइ ८.५० देखि १०.५० मिटर रहने छ। गाडी चल्ने सडकको चौडाइ ५.५ मिटर कालोपत्र र दुवैतिर सोल्जरको चौडाइ १.५ गरी जम्मा ८.५० मिको सडक निर्माण हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। बस्तीहरूमा आयातकारको १७६० मि. लम्बाइको ढल, कल्भर्टसमेत बनाउने योजना रहेको छ।

प्रकाशित: ३१ श्रावण २०८२ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App