नेकपा एमालेभित्र उम्मेदवारको चयनप्रति विवाद बढ्दो छ । पार्टीमा इत्तरसमूहलाई ठाउँ नदिएको आरोप लागिरहेका बेला एकाघरका दुई दम्पत्ति भने उम्मेदवार बनेका छन् ।
यी दुई दम्पत्तिमा रघुवीर महासेठ र जुली कुमारी महतो तथा शेरबहादुर तामाङ र उषाकला राई छन् ।
एमालेले शनिबार राति टुंगो लगाएका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये धनुषा क्षेत्र नं. ३ बाट जुलीकुमारी महतो र क्षेत्र नं. ४ बाट रघुवीर महासेठ उम्मेदवार बनेका छन्। उनीहरू पतिपत्नी हुन् । अघिल्लो निर्वाचनमा पनि दुवै जना प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए।
रघुवीर महासेठ एमालेको ११ औँ महाधिवेशनमा ओली समूहबाट उपमहासचिव पदमा १३६८ मतका साथ निर्वाचित भएका थिए। तर केन्द्रीय कमिटी सदस्यमा भने ८८१ मतसहित पराजित भएका थिए। उनकी पत्नी जुलीकुमारी महतोले मधेसी महिलातर्फ १९३७ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी भएकी थिइन्।
यसैगरी, समानुपातिक बन्दसूचीतर्फ आदिवासी जनजाति महिला क्लष्टरबाट उम्मेदवार बनेकी उषाकला राई र सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने सूचीमा रहेका शेरबहादुर तामाङ पनि पतिपत्नी हुन्।
राई दुवै संविधानसभामा समानुपातिक प्रणालीमार्फत उम्मेदवार भएकी थिइन्। तामाङले सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट २०७० को दोस्रो संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरेका थिए। उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा केही समय कानून मन्त्रीसमेत भएका थिए।
२०७८ मा तत्कालीन नेकपाको विभाजन हुँदा सुरुमा प्रचण्ड–माधव समूहमा रहेका उनीहरू फागुनमा ओली समूहमा फर्किएका थिए। गत पुसमा सम्पन्न एमालेको ११ औँ महाधिवेशनमा दुवै ओली खेमाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। राईले आदिवासी जनजाति महिला क्लष्टरतर्फ १८०४ मत र तामाङले खुला तर्फ १४२२ मत प्राप्त गरेका थिए।
प्रकाशित: ४ माघ २०८२ १६:११ आइतबार





