सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।
बैठकले गरेका अन्य महत्वपूर्ण निर्णयहरू निम्नानुसार छन्:
-मन्त्रिपरिषद्ले नेपाल र मौरिससबीच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय गरेको छ।
-सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्दै स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ।
-कतारको दोहामा आयोजना हुने सामाजिक विकाससम्बन्धी दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा एक प्रतिनिधिमण्डल जाने भएको छ। मन्त्रिपरिषद्ले राष्ट्रपतिको कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमणलाई स्वीकृत गरेको छ।
-सरकारले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ लाई स्वीकृत गरेको छ। यसअन्तर्गत अब अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै हुने व्यवस्था गरिएको छ। यो नियमावली राजपत्रमा प्रकाशित भएपछि लागू हुने प्रवक्ता खरेलले जानकारी दिए।
प्रकाशित: १२ कार्तिक २०८२ १६:४२ बुधबार





