३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र नेतृत्व परिवर्तनको च्याप्टर क्लोज भइसकेको बताएका छन्।

उपमहासचिव योगेश भट्टराईले नेतृत्वले मार्गप्रशस्त नगरे पार्टीमा अप्रिय निर्णय लिन सकिने भनी दिएको अभिव्यक्तिको सन्दर्भमा बस्नेतले पार्टीलाई नभई त्यस्तो बोल्नेलाई नै अप्रिय अवस्था आउने चेतावनी दिएका हुन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले पार्टीले विगतमा पनि आन्तरिक र बाह्य दबाबहरूको सफलतापूर्वक सामना गरेको सुनाए।

‘जुन आम कार्यकर्ताले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने प्रक्रियामा सहभागी हुन उहाँलाई भोट हालेका थिए, त्यही भावना नबुझी अप्रिय परिस्थितिको आउँछ भनी बोल्नु गलत हो,’ उनले थपे, ‘उहाँले चाहेर मात्र पार्टीभित्र अप्रिय परिस्थिति आउँदैन। यस्तो घटनाले पार्टीलाई नभई प्रिय परिस्थिति ल्याउन खोज्नेहरूलाई नै अप्रिय अवस्थामा पुर्‍याउने निश्चित छ।’

बजारमा नेपाली कांग्रेसको जस्तै विशेष महाधिवेशन बोलाएर अध्यक्ष ओलीलाई हटाउने चर्चा चलिरहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा बस्नेतले एमालेको परिवेश नितान्त फरक रहेको व्याख्या गरे।

कांग्रेसले समयसीमा सकिएर महाधिवेशनको कुरा गरेको भए पनि एमालेले विधानले तोकेको समयभन्दा एक वर्ष अगावै महाधिवेशन गरेर नेतृत्व चयन गरेको उनले सुनाए।

विगतमा पार्टी नेतृत्वमाथि प्रश्न उठेपछि अध्यक्ष ओलीकै पहलमा समयअगावै शानदार रूपमा महाधिवेशन सम्पन्न भएको बस्नेतले बताए। आगामी १२औं महाधिवेशनसम्म नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको उनको भनाइ छ।

उनले भने, ‘१२औं महाधिवेशनसम्मका लागि नेतृत्व परिवर्तनको विषय आजको हाम्रो पार्टीको विषय नै होइन।’

लोकतान्त्रिक पार्टीभित्र फरक मत राख्न पाइने भए पनि त्यसको निश्चित विधि र फोरम हुने बस्नेतले प्रस्ट पारे। पार्टीका आन्तरिक कमिटी, बैठक र महाधिवेशनहरूमा आफ्ना विचार राख्न छुट भए पनि अनुशासनहीन ढंगले बाहिर बोल्दै हिँड्न नपाइने उनले चेतावनी दिए।

नेतृत्वको बारेमा फरक दृष्टिकोण राख्दैमा तत्काल पार्टीबाट निष्कासन गरिहाल्ने नीति एमालेमा नरहेको उनले बताए। ‘पार्टीभित्र असहमति राख्दा र नेतृत्वको बारेमा फरक मत राख्दैमा कारबाही हुने वा निष्कासन गर्ने अभ्यास हाम्रोभित्र छैन।’

प्रकाशित: ३० फाल्गुन २०८२ १७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App