नेकपा एमालेले विधान अधिवेशनमा विद्या भण्डारीको सदस्यताबारे छलफल नहुने जनाएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा बिहीबार भएको सचिवालय बैठकले पूर्वराष्ट्रपतिको सदस्यताका विषयमा विधान महाधिवेशनमा छलफल नहुने निष्कर्ष निकालेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
विधान अधिवेशनसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय नजोडिने निष्कर्ष पार्टीको सचिवालय बैठकले निकालेको हो ।
उपमहासचिव ज्ञवालीका अनुसार कुनै व्यक्तिलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीले टुंगो लगाउने भन्दै यो विषयले विधान महाधिवेशनमा प्रवेश नपाउने बताए ।
उनले भने, ‘कोही पनि व्यक्तिको सदस्यताबारे प्रश्न केन्द्रीय कमिटीले नै टुंगो लगाएको छ । उहाँ (विद्या भण्डारी) को सदस्यता नवीकरण भएको छैन । त्यो सदस्यताको विषयलाई लिएर थप छलफल गर्नुपर्ने कुनै जरुरी नै भएन । पछि कुनैबेला थप छलफल गर्नुपर्ने भए केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीमै छलफल हुनेछ ।’
स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गर्ने फरक मतमा समेटेको विषय भने छलफल हुने बताए ।
उनले भने, ‘कर्ण थापाले आफ्नो फरक मतमा के लेख्नुहुन्छ, त्यो फरक कुरा रह्यो । हामी चाहन्छौं सम्माननीय पूर्वराष्ट्रपतिको व्यक्तित्व, राष्ट्रिय राजनीतिको योगदानको विषय महाधिवेशनको पक्ष र विपक्षको विषय नबनोस् भनेर हामीले सबैलाई आग्रह गरेका छौं ।’
तीन दिने विधान महाधिवेशनमा विधान र प्रतिवेदनसँग जोडिएका विषय मात्रै छलफल हुने ज्ञवालीले बताए ।
प्रकाशित: १९ भाद्र २०८२ २२:०० बिहीबार





