नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य राजनीतिक दलहरूमा निराशा र निष्क्रियता छाएको टिप्पणी गरेका छन्।
सोमबार पार्टीको चौथो पुनर्गठन दिवसका अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले भने आत्तिनुपर्ने कुनै आवश्यकता नरहेको बताए।
‘अरु पार्टी हेर्नुस्, कति निराशा छ ! निराशै निराशा व्याप्त छ,’ अध्यक्ष नेपालले भने, ‘गतिशीलता हराएर निष्क्रिय भएर बसेका छन्।’
उनले अन्य दलहरूको अवस्थासँग आफ्नो पार्टीलाई तुलना गर्दै निराश हुनुपर्ने अवस्था नरहेकोमा जोड दिए। ‘तिनीहरूलाई र हामीलाई हेर्ने हो भने आत्तिनुपर्ने केही आवश्यकता छैन,’ उनले पार्टीका नेता-कार्यकर्ताहरूलाई उत्साहित पार्दै भने।
अध्यक्ष नेपालले ठूला भनिएका बुर्जुवा पार्टीहरूको अवस्था पनि प्रशंसा गर्न लायक नभएको र कतिपय दलहरू सिद्धान्त र विचारविहीन रहेको आरोप लगाए।
उनले अन्य दलहरूबाट राम्रा कुरा सिक्न भने पछि हट्न नहुने धारणा राखे। ‘उनीहरूका पनि राम्रा कुरा सिकौँ हामी। कसरी जनतामा प्रभाव पार्दा रहेछन्, कसरी अभियान चलाउँदा रहेछन्, कसरी घरघर जाँदा रहेछन्, त्यस्ताहरूबाट पनि सिकौँ,’ उनले भने।
पार्टी निर्माणको उद्देश्य स्पष्ट पार्दै अध्यक्ष नेपालले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धारमा अगाडि बढाउन, रक्षा गर्न र नयाँ उचाइमा पुर्याउन हामीले यो पार्टी निर्माण गरेका हौँ।’
उनले राष्ट्रियताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको बताए।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा विवादको प्रसंग उल्लेख गर्दै उनले भारत र चीनले नेपालसँग नसोधेरै उक्त नाका प्रयोग गर्ने सहमति गरेकोमा आपत्ति जनाए।
‘नेपाल सरकारले तत्काल आफ्नो पहल अगाडि बढाओस्। वार्ता, संवाद र कूटनीतिक पहलबाट, तथ्य र प्रमाण अगाडि सारेर त्यो समस्यालाई समाधान गर्ने कुरामा अगाडि बढोस्,’ उनले सरकारसँग आग्रह गरे।
प्रकाशित: ९ भाद्र २०८२ १९:१८ सोमबार





