राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अच्युतम लामिछानेले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर महिलाले बच्चा जन्माएको घटनालाई लिएर सरकार असफल बनाउन विभिन्न व्यक्ति प्रयोग भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। सांसद लामिछानेले घटनाबारे पर्याप्त प्रमाण र सूचना आफूले प्राप्त गरिनसकेको स्पष्ट गर्दै घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने बताए ।
‘त्यो हुनु हुँदैन थियो । सबैभन्दा ठूलो गल्ती हो । यदि कहिलेकाहीँ फेरि सरकारलाई नै असफल बनाउन विभिन्न व्यक्तिहरू प्रयोग पनि हुनु हुँदैन,’ उनले भने, ‘यो देश तपाईंले पनि बनाउनुपर्छ । सही सूचना आउनुपर्यो।
’उनले सडकमा बच्चा जन्माउने अवस्था आउनु राज्यका लागि गम्भीर विषय भएको बताए । प्रसूति पीडामा रहेकी महिलालाई तत्काल उद्धार गरी सरकारी वा निजी जुनसुकै अस्पतालमा पुर्याउनुपर्ने उनको भनाइ छ।
‘सबैभन्दा पहिला त उहाँलाई सडकमा बच्चा जन्मने अवस्था आउनु हुँदैन थियो । राज्यले बोकेर लिएर गएर कुन अस्पताल हो, त्यो सरकारी अस्पताल नै होइन, प्राइभेटमा भए पनि बोकेर लिएर जानुपर्छ,’ उनले भने,
‘त्यो अवस्था आयो भने गर्नुपर्छ । चाहे पैसा भएको होस्, चाहे नभएको होस् । यहाँ धनी र गरिबको कुरा छैन, प्रसव पीडा सबैलाई हुन्छ।
’उनले सरकारलाई सहयोग गर्नुको विकल्प नरहेको भन्दै सरकार असफल बनाउन कुनै रणनीति भइरहेको छ कि छैन भन्ने विषयमा बुझ्नुपर्ने बताए।
‘यो सरकार पनि असफल भयो भने सबैभन्दा निकम्म र थर्ड क्लास तेस्रो देशको रूपमा हामी जाने अवस्था आउन सक्छ,’ उनले भने, ‘त्यसकारण हामी सबै मिलेर सही सूचना बाहिर ल्याउनुपर्छ।’
प्रकाशित: २६ भाद्र २०८३ १८:२५ शुक्रबार





