२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
खेल

आहा ! रारा पोखरा गोल्डकपको आम्दानी : प्रायोजकबाट बढ्यो टिकटबाट घट्दो

सहारा क्लब पोखराले गत माघमा आयोजना गरेको २५औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट ३ लाख २१ हजार ८३९ रुपैयाँ बचत गरेको छ। क्लबले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

क्लबका अनुसार प्रतियोगिताबाट कुल १ करोड ३३ लाख २३ हजार ४८५ रुपैयाँ आम्दानी भएको थियो भने १ करोड ३० लाख १ हजार ६४६ रुपैयाँ खर्च भएको थियो।

प्रतियोगिताको आम्दानीतर्फ गेट टिकटबाट हुने आम्दानी भने घट्दै गएको देखिएको छ। तर प्रायोजक तथा सरकार र विभिन्न संघसंस्थाबाट प्राप्त हुने सहयोग बढेको क्लबले जनाएको छ।

२५औँ संस्करणको प्रतियोगितामा गेट टिकटबाट ८ लाख ३३ हजार ५०० रुपैयाँ आम्दानी भएको थियो। यो अघिल्लो संस्करणमा क्लबले बचत गरेको रकमको तुलनामा झण्डै आधा हो। २४औँ आहा ! रारा पोखरा गोल्डकपबाट क्लबले २४ लाख २२ हजार रुपैयाँ बचत गरेको थियो।

यसपटक प्रतियोगिताको ब्यानर प्रायोजकबाट १७ लाख ८२ हजार ३६५ रुपैयाँ संकलन भएको क्लबले जनाएको छ। त्यस्तै, पोखरा महानगरपालिकाका विभिन्न वडा तथा अन्य संघसंस्थाबाट ३ लाख ९२ हजार ५८६ रुपैयाँ प्राप्त भएको अध्यक्षले बताए।

गेट टिकटबाट आम्दानी घटे पनि सरकार तथा संघसंस्थाबाट प्राप्त सहयोग र प्रायोजकबाट प्राप्त रकम बढेकाले प्रतियोगिता सञ्चालनमा सहज भएको क्लबको भनाइ छ।

‘टिकटबाट आम्दानी गुम्दै गएको छ, तर प्रदेश सरकार र पोखरा महानगरपालिकालगायतका सरकारबाट प्राप्त हुने सहयोग तथा प्रायोजकबाट प्राप्त हुने रकम बढेको छ। यसले गर्दा प्रतियोगिता गर्न केही सहज भएको छ,’ अध्यक्षले भने।

प्रतियोगिताबाट बचत भएको रकम पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित कठिन परिस्थितिका तथा विपन्न वर्गका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य र फुटबल प्रशिक्षणमा खर्च गरिने क्लबले जनाएको छ।

एकेडेमीमा हाल २८ जना बालक आश्रित छन्। उनीहरूको आवासीय खर्चसँगै शिक्षा, स्वास्थ्य तथा खेलकुदका लागि आवश्यक खर्च एकेडेमीले व्यहोर्दै आएको छ।

प्रतियोगिताका मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले सहारा क्लबले फुटबलको विकासमा अतुलनीय योगदान दिँदै आएको बताए।

‘निःस्वार्थ भावले सहाराले गरेको कर्मलाई हामीले सहयोग गर्नुपर्छ भनेर नै अहिलेसम्म मुख्य प्रायोजन गर्दै आएका छौँ र आगामी दिनमा पनि हाम्रो सहयोग निरन्तर रहन्छ,’ उनले भने।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आहा ! रारा पोखरा गोल्डकपले पोखराको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। यस्ता प्रतियोगिताको अपनत्व र अभिभावकत्व राज्यले लिनुपर्ने उनको भनाइ थियो।

 

प्रकाशित: २६ भाद्र २०८३ १८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App