५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘रास्वपामा गुटबन्दी छुट छैन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ जना सांसदलाई सुविधा सम्पन्न होटलमा आयोजना गरेको अभिमुखीकरण तालिममा सरकारको नेतृत्व गर्ने बालेन्द्र शाह भने उपस्थित हुन सकेनन्। दुईदिने अभिमुखीकरणको दोस्रो दिन सभापति रवि लामिछाने भने उपस्थित भए। लामिछानेले देशको काँचुली फेर्न जनताले रास्वपालाई ठुलो भरोसा गरेर जिताएकाले जनमतविरुछ नजान नवनिर्वातित सांसदलाई सचेत गराए।

रास्वपाबाट निर्वाचित सांसदमा राज्यसञ्चालनको विभिन्न तहमा बसेर काम गरेका व्यक्तिहरू पनि छन्। प्रशासनिक तथा सुरक्षा अंगबाट निवृत, सामाजिक अभियन्ता लगायत रास्वपाका सांसद छन्। लामिछानेले उनीहरूलाई सम्बोधन गर्दै विभिन्न बाधा अड्चन फुकाएर काम गर्न स्पष्ट जनादेश प्राप्त भएकाले सोही अनुसार प्रस्तुत हुन सांसदलाई आग्रह गरे तर सरकारको नेतृत्व गर्न लागेका पार्टीका वरिष्ठ नेता शाह अभिमुखीकरणमा अनुपस्थित हुँदा नवनिर्वाचित सांसदले खल्लो माने। शाह अभिमुखीकरण कार्यक्रममा सहभागी नहुनुको स्पष्ट कारण नखुलाइए पनि उनी नयाँ सरकारको टिम निर्माणमा लागेको स्रोतले बताएको छ। काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह झापा–५ बाट भारी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित सांसदलाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग दुई तिहाइको बहुमत दिएका छन्। अब केको बाधा? अब केले अड्काउँछ हामीलाई? अब अड्काउने भनेको तपाईं हाम्रो नियतले मात्रै हो।’

लामिछानेले कांग्रेस–एमालेभित्र देखिएको गुटबन्दीको स्मरण गराउँदै आफ्नो पार्टीभित्र गुटबन्दी नगर्न सांसदहरुलाई सचेत गराए। रास्वपामा लामिछाने, स्वर्णिम वाग्ले र शहको गुट रहेको चर्चा हुने गरेको छ। सभापति लामिछानेले नवनिर्वाचित सांसदको पहिलो भेलामा गुटबन्दीको विषय उच्चारण गर्नुले केही न केही समस्या छ कि भन्ने देखिन्छ। ‘अघिल्लो चुनावमा जनताले के भने भने यी नयाँहरूलाई एकपटक हेरौं, ताकि यिनीहरू नमातिउन्। यत्ति मात्र सिट दिऊँ र पुरानाहरूलाई सच्चिने अवसर दिनेगरी निमिट्याउन नपारौं भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे तर नागरिकको त्यो विवेकलाई झन्डै दुई तिहाइको गठबन्धन सरकारले चुनौती दियो।’

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले पार्टी सभापतिको हैसियतमा सम्बोधनका क्रममा भने, ‘शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी लाग्छ, त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले ३५–३६ वर्षसम्म कुरे, तपाईं हामीलाई ३६ महिना त के ३६ दिन पनि कुर्नेवाला छैनन्। यो कुरामा निर्धक्क हुनुहोला। किनकि जनतामा अब्बल चेतना आएको छ।

अब कानुन निर्माताका रूपमा तपाईंहरूको दौड स्वार्थ समूहहरूको घरघरमा होइन। गुट बनाएर कांग्रेस–एमालेलाई जितिँदैन साथी हो। कुनै गुट बनाउनु पर्दैन। घण्टीमुनि सबै अटाउन सक्छन्। घण्टीसँग त्यति धेरै तागत छ। गुट बनाउनु पर्दैन।’

उनले यही सन्दर्भलाई जोडेर आफ्नो पोजिसन के हुन्छ भनेर नहेर्नसमेत नवनिर्वाचित सांसदलाई आग्रह गरे। ‘आफ्नो पोजिसन के हुन्छ? म कहाँ हुन्छु? मलाई के हुन्छ? पार्टीमा मेरो हैसियत के हुन्छ? संसद्मा मेरो हैसियत के हुन्छ? सरकारमा मेरो हैसियत के हुन्छ? मकेन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देशकेन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना दलका नेताहरूको भन्दा पनि बत्तर हविगत हुन्छ। यो कुरा म तपाईंहरूलाई डे वानमा बताउन गइरहेको छु’, उनले भनेका छन्।

लामिछानेले सांसदहरूलाई आफूलाई नभई देश र जनतालाई केन्द्रमा राख्न आग्रह गरे। ‘आफूलाई सेन्टरमा नराख्नुस, राजनीति आजसम्म त्यस्तै भयो। विगतका विभिन्न सहमतिहरूमा नेताहरूले आआफ्नो ठाउँ सुरक्षित राखे, पार्टीहरूले आआफ्नो ठाउँ सुरक्षित राखे तर देशलाई सुरक्षित राख्ने हो कि होइन? देशलाई केन्द्रमा राखियो कि राखिएन? त्यो महत्त्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ। देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईंको र मेरो मन्त्री, प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नका लागि यो समाज बाध्य छैन तर यो समाजको सपनाको भारी तपाई हामीले बोक्ने हो। त्यसका लागि तपाईं हामीलाई जनताले मत दिएर पठाएका हुन्’, उनले भने।

लामिछानेले नवनिर्वाचित सांसदहरूलाई सम्बोधनका क्रममा पाँच वर्षसम्म आफूलाई अन्य चुनावहरूमा चुनिएको जस्तो नठान्न पनि आग्रह गरे। ‘यो पाँच वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनिएको जस्तो सोच्नुभयो भने त्यसले अप्ठेरो परिस्थिति सिर्जना गर्छ। राजनीति यसैगरी चल्छ भनेर त्यही ढंगले दौडधुप पनि गरेको मैले पनि देखिरहेको छु। राजनीति यसैगरी चल्नेवाला छैन। कुनै पनि चिज हिजो जस्तो आज चल्नेवाला छैन। काँचुली फेर्ने हो’, उनले भने।

काँचुली फेर्नका लागि भनेर नेपाली जनताले रास्वपालाई अभिमत दिएको प्रस्ट पार्दै थपे, ‘हामी कानुन बनाउन आएका हौं। कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईंहरूको काँधमा नेपाली जनताले दिएका छन्। त्यो कानुन फेरेर बाटो बन्छ, धारामा पानी आउँछ, बिजुली आउँछ, इन्टरनेट चल्छ भन्ने जतलाई थाहा नहोला तर तपाईंलाई थाहा हुनुपर्छ। कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा पुग्न, तपाईंलाई थाहा हुनुपर्छ। अध्ययन गर्नुपर्ने हुन्छ।’

लामिछानेले नवनिर्वाचित सांसदलाई आचरण बदल्न पनि निर्देशन दिए। ‘अब तपाईं हिजोको जस्तो व्यक्ति होइन, जिम्मेवार सांसद, जिम्मेवार राजनीतिकर्मी, जिम्मेवार प्रतिनिधि हुनुहुन्छ। भूमिका बदलिएको छ। कसैलाई अझै पुरानै शैलीमा बोल्ने वा व्यवहार गर्ने मन छ भने यो भूमिका छाड्न सकिन्छ तर जिम्मेवारी स्वीकार गर्ने हो भने त्यसैअनुसार आचरण बदल्नुपर्छ। अब हामीले कानुन बनाउने, संशोधन गर्ने, जनताको जीवनमा परिवर्तन ल्याउने काम गर्नुपर्छ। मत दिएका जनताको घरघरमा खुसी पुर्‍याउनुपर्छ। उनीहरूले सेवा पाउन सोर्सफोर्स चाहिने अवस्था अन्त्य हुनुपर्छ। सम्भव भएसम्म सरकारी अस्पतालमै उपचार गराउनुहोस्। त्यसले सार्वजनिक सेवा सुधार्न मद्दत गर्छ। जनताले भोग्ने समस्या आफैंले अनुभव गर्नुपर्छ’, उनले भने।

लामिछानेले लोकतान्त्रिक विधि पद्धति र वर्तमान संविधान र व्यवस्थाप्रति आफू र पार्टी रास्वपा प्रतिबद्ध रहेको बताए। ‘म लोकतान्त्रिक पद्धति, वर्तमान संविधान र व्यवस्थाप्रति प्रतिबद्ध छु। इतिहासमा पुराना नेताहरूको योगदानलाई सम्मान गर्छु। विजयको उन्मादमा विपक्षीप्रति कटाक्ष नगर्नुहोस्। त्यस्तो व्यवहार कदापि स्वीकार्य छैन’, उनले भने, ‘विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन, त्यो लोकतन्त्रको चरित्र होइन। हामीमाथि धेरै आरोप लागेको छ।

आज तपाईंहरू सबैलाई साक्षी राखेर म यो आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईंहरूको काँधमा पनि बाँड्न चाहन्छु कि रास्वपामा प्रायः अराजक छन्, रास्वपा समर्थकहरू अत्यन्त असहिष्णु छन्, सामाजिक सञ्जालमा गालीगलौजमा उत्रन्छन्, व्यक्तिगत गालीगलौजमा उत्रन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्, त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु -  अब त्यसबाट बाहिर निस्कनुपर्छ।’

प्रकाशित: ५ चैत्र २०८२ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App