२७ भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्छ: माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।

वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा देखिएका घटनाहरूको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए।

साथै, देश अहिले प्राकृतिक विपत्तिको चपेटामा परेको भन्दै उनले बाढीपहिरोपीडितको उद्धार र राहतमा राज्यका सम्पूर्ण संयन्त्र युद्धस्तरमा खटिनुपर्नेमा जोड दिए।

सहसंयोजक नेपालले गत भदौ १० गतेको भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति भएको र अझै पनि नागरिकहरू बेपत्ता रहेको स्मरण गराउँदै खोजी कार्यलाई थप तीव्र बनाउन आग्रह गरे।

‘देश विपत्मा परेका बेला सरकारले आफ्ना उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गर्नुपर्छ,’ उनले भने, ‘यसमा विभिन्न संघसंस्था तथा राजनीतिक दलहरूलाई समेत समन्वय गरेर उद्धार र राहतमा खटाउन सक्नुपर्छ।’

वर्तमान सरकारप्रति नागरिकको तीव्र आशा र अपेक्षा रहेको उल्लेख गर्दै उनले सरकारले जनचाहना बुझेर परिणाममुखी काम गर्नुपर्ने धारणा राखे।

जनतालाई सुशासनसहितको प्रभावकारी सेवा प्रवाहको प्रत्याभूति गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो।

सोही क्रममा सहसंयोजक नेपालले प्राप्त राजनीतिक उपलब्धिको संरक्षणका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने राजनीतिक आवश्यकता पनि औंल्याए।

लामो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता र समावेशिताको रक्षाका लागि दलहरूबीच सहकार्य र समन्वय हुनुपर्ने उनले बताए।

उनले संविधान सामान्य अवस्थाबाट नआएकाले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका सीमान्तकृत समुदायको संवैधानिक अधिकार संरक्षण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरे ।

प्रकाशित: २७ भाद्र २०८३ १६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App