नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि सबै विषयमा सहमति हुनुपर्ने बताएका छन्।
उनले एकताका लागि धेरै कुरा मिल्न बाँकी रहेको भन्दै सबै विषयमा टुंगो लागे मात्रै एकता सम्भव हुने, नत्र नहुने स्पष्ट पारे।
बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव भुसालले आफू सधैँ एकताको पक्षमा रहेको तर अहिले नै एकता भइहाल्ने अवस्था नरहेको बताए।
‘पार्टी एकता गरे हुन्छ, नगरे हुँदैन,’ उनले भने, ‘माओवादीसँग एकता हुँदैन भनेर हामीले भनेका छैनौं, तर अबको दिनमा धेरै कुरा बाँकी छ।’
एकता कहिलेसम्म हुन्छ भन्ने प्रश्नमा उनको प्रष्ट जवाफ थियो, ‘हाम्रो सबै कुरा मिल्यो भने, हामी एक ठाउँमा गयौं भने हुन्छ, नत्र हुँदैन।’
एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकता गर्ने प्रस्ताव पेस गरेका थिए।
तर, पार्टीभित्र एकताको विषयलाई लिएर मतभेद देखिएको छ। सम्मानित नेता झलनाथ खनालले एकताको विपक्षमा उभिएका छन् भने महासचिव भुसालले सशर्त एकताको पक्षमा आफूलाई उभ्याएका छन्।
अध्यक्ष नेपालले कात्तिक मसान्तभित्रै एकता टुंग्याउने लक्ष्य राखे पनि पार्टीका अन्य शीर्ष नेताहरूको फरक मतका कारण प्रक्रिया लम्बिने देखिएको छ।
प्रकाशित: १३ कार्तिक २०८२ २०:५६ बिहीबार





