६ भाद्र २०८२ शुक्रबार
image/svg+xml २३:१८ अपराह्न
राजनीति

‘रविलाई फसाउने षड्यन्त्र भए ०८४ मा पुराना दलहरूको जमानत जफत हुन्छ’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशका पुराना राजनीतिक दल र तिनका शीर्ष नेताहरूमाथि संस्थागत लुट मच्चाएको र सत्ता नछाड्ने प्रवृत्ति हाबी भएको आरोप लगाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै सुरु गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउन पार्टी कार्यालय पुगेका उनले संचारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

सांसद सिंहले यदि रवि लामिछानेलाई फसाउने षड्यन्त्र भए २०८४ को चुनावमा पुराना दलहरूको जमानत जफत हुने चेतावनी दिए।

‘यो दिन नआओस् कि रविलाई भित्र राख्दा यिनीहरूको २०८४ मा जमानत जफत होस्,’ उनले भने। उनले नेपाली जनतालाई न्यायको पक्षमा र रविको पक्षमा उभिन आग्रह गरे।

पुराना नेताहरूको सत्तामोहमाथि व्यङ्ग्य गर्दै उनले भने, ‘अमेरिका जस्तो देशमा ८ वर्ष राष्ट्रपति भएपछि ओबामा घर जान्छन्, यहाँ पाँच पटक प्रधानमन्त्री भएका ८२ वर्षका नेता छैटौं पटकका लागि कि पशुपति जाने कि प्रधानमन्त्री कार्यालय जाने भनेर दुई बाटो खोजिरहेका छन्। यस्तो प्रवृत्तिले देश चल्दैन।’

उनले भुटानी शरणार्थी प्रकरणलाई आफूले संसदमा सर्ट खोलेर उठाए पनि ठूला दलको मिलेमतोमा दबाइएको आरोप लगाए। ‘भुटानी शरणार्थीको मुद्दा कहाँ पुग्यो ? कांग्रेस र एमालेले संसदमा छलफल नगर्ने सहमति गरेर त्यसलाई दबाए,’ उनले भने।

सिंहले विगत ३० वर्षमा देशका विश्वविद्यालय, अस्पताल, प्रशासन र प्रहरी संगठनलाई दलहरूले नै बिगारेको आरोप लगाए। उनले भने, ‘यो देशको विश्वविद्यालय कसले बिगार्‍यो? अस्पताल र प्रशासनलाई कसले समाप्त पार्‍यो ? प्रहरीलाई निष्पक्ष हुन नदिने काम कसको हो ?’

सिंहले कांग्रेस-एमालेका शीर्ष नेताहरूलाई बिनासुरक्षा जनतामाझ हिँड्न चुनौती दिँदै यदि त्यसो गर्न सके आफूले राजनीति नै समर्पण गर्ने घोषणा गरे।

प्रकाशित: ११ श्रावण २०८२ १५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App