नेकपा (माले) का महासचिव सीपी मैनालीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजाप्रति आशङ्का व्यक्त गरेका छन्।
बुधबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको विस्तारित बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव मैनालीले चुनावमा गैरसरकारी संस्था एनजीओ/आइएनजीओको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका हुन्।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फागुन २१ गते सम्पन्न निर्वाचन प्रक्रिया र परिणाममा कैयौं आशङ्काहरू उत्पन्न भएका छन्। निर्वाचनमा एनजीओ/आइएनजीओको प्रत्यक्ष संलग्नतामा गठित गैरदलीय भनिए तापनि रास्वपाको उदय आशङ्कायुक्त छ।’
यद्यपि, उनले रास्वपाको नेतृत्वमा बन्ने नयाँ सरकारलाई शुभकामना भने दिएका छन्।
बैठकले अमेरिकी सेनाका उच्च अधिकारीहरूको निरन्तरको नेपाल भ्रमणप्रति पनि आपत्ति जनाएको छ। अमेरिकी सेनाका डेपुटी कमान्डिङ जनरल जोएल भोवेल र त्यसअघि इन्डो प्यासिफिक कमान्डका जनरल सामुयल जे. पापारोको भ्रमणप्रति बैठकले आपत्ति जनाएको हो।
यी भ्रमणहरू नेपालसँग चीनविरोधी सुरक्षा साझेदारी बढाउने इन्डो प्यासिफिक रणनीतिकै कडी भएको मालेको ठहर छ।
यस्ता गतिविधिप्रति सचेत रहन सम्पूर्ण शक्तिहरूलाई पार्टीले आह्वान गरेको छ। यसैगरी, कोशी प्रदेशको मोरङस्थित बुढीगंगामा चिनियाँ राष्ट्रपति सी चिनफिङका किताब जलाइएको घटनालाई मालेले साम्राज्यवादी शक्तिको निर्देशनमा भएको षड्यन्त्र भनेको छ।
नेकपा (माले) ले फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त अमानवीय कृत्यमा संलग्न हत्यारालाई तत्काल पहिचान गरी कठोर कारबाही गर्न सरकारसँग माग गरेको छ।
त्यस्तै, मध्यपूर्वको युद्धको बाहना बनाउँदै बजारमा ग्यासको कृत्रिम अभाव र कालोबजारी गर्ने माफियाहरूलाई कारबाही गर्न मालेले सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीको साङ्गठनिक विषयमा छलफल गर्न नेकपा (माले) ले आगामी चैतको अन्तिम साता काठमाडौंमा आठौँ केन्द्रीय कमिटीको तेह्रौँ पूर्ण बैठक आयोजना गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित: ४ चैत्र २०८२ २०:१५ बुधबार





