राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट जुम्ला क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ज्ञानेन्द्र शाहीले सुनसरी क्षेत्र नम्बर-१ का सांसद हर्क साम्पाङको जित आम सर्वसाधारणको सफलता भएको बताएका छन्।
एक सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा शाहीले श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङको विजयले भुइँमान्छेको आशा र संघर्षको प्रतिनिधित्व गरेको सुनाए।
‘ठूला–ठूला मान्छे एकातिर छन्, गाउँबाट आएका पीडित र साधारण जनता अर्कोतिर छन्। त्यो पीडा हामीले पनि भोगेका छौं। हर्क साम्पाङले जित्दा कतै हामीले नै जितेको जस्तो महसुस भएको छ।’ शाहीले भने।
विगतमा पहुँचविहीन हुँदा विभिन्न निकायका ढोकाबाट आफूहरूलाई धकेलेर निकालिएको स्मरण गर्दै उनले साम्पाङको जितले त्यही पीडालाई सम्बोधन गरेको बताए।
उनले थपे, ‘हर्क साम्पाङको विजय सामान्य विजय होइन। हजारौँ भुइँमान्छेको विजय हो। हामीले भोगेको पीडा के हो भने कहिलेकाहीँ कुनै ढोकामा जाँदा हामीलाई धकेलेर बाहिर पठाइन्थ्यो। त्यो पीडालाई यो जीतले सम्बोधन गरेको छ।’
प्रकाशित: २६ फाल्गुन २०८२ १५:१२ मंगलबार





