जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको विषय निकै पेचिलो भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले दौडधुप तीव्र पारेका छन्। मङ्सिर भित्रै नियमित वा विशेष महाधिवेशन हुनुपर्ने अडानमा रहेका दुवै जना महामन्त्री संस्थापन पक्षले त्यसलाई अस्वीकार गर्ने देखेपछि दबाब बढाउन अन्य गुटका नेताहरूसँग भेटेका हुन्।
शुक्रवार बिहान पहिले डा. शेखर कोइरालासँग भेटेका महामन्त्री द्वय थापा र शर्माले त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर आफ्नो कुरा राखेका छन्।
बिहानैदेखि कोइरालाले आफ्नो टिमका नेताहरूको बैठक राखेको भनिए पनि त्यो बैठक महामन्त्री शर्माले ‘अरेन्ज’ गरेको स्रोतले बतायो। ‘त्यो बैठक शेखर दाइको सचिवालयमा आयोजना भएको भनिए पनि विश्वदाइले अरेन्ज गरेको हो,’ स्रोतले भन्यो,‘त्यसैले त्यसलाई शेखर डाक्टर साबको गुट भेला भन्न मिल्दैन।’
त्यो भेटमा पहिले महामन्त्री शर्माले नै कुरा राखेको स्रोतको दाबी छ। ‘विश्वदाइले त्यहाँ संस्थापन पक्षले आफ्नो गुट भेला राखेर धारणा ल्याइसकेको छ। तर, यसमा तपाईँको कित्ता के हो? क्लियर भएन। न तपाईँको धारणा आयो, टिमको धारणा खोइ? न टिमका साथीहरूले मंसिरमै महाधिवेशन गर्ने विषयमा सघाइरहेका छन्। भनेर कुरा राख्नुभयो,’ स्रोतले भन्यो।
स्रोतकै अनुसार त्यसपछि अर्का महामन्त्री थापाले मंसिर महिनाभित्रै नियमित १५ औं महाधिवेशनको कार्य तालिका आउने र नभए विशेष महाधिवेशन भए पनि आयोजना हुने बताएका थिए। ‘गगन दाइले त्यहाँ विशेष महाधिवेशनले पार्टीले लिनुपर्ने आवश्यक नीति त लिन्छ लिन्छ, नयाँ नेतृत्व पनि छान्छ भनेर भन्नुभयो,’ स्रोतले भन्यो।
कोइराला भने नियमित महाधिवेशन नै हुनुपर्ने पक्षमा छन्। उनले हालसम्म विशेष महाधिवेशनका पक्षमा बोलेका छन्। उनी निकटका नेताहरूले पनि विशेष महाधिवेशनको विषयमा हालसम्म मुख खोलेका छैनन्।
कोइरालासँगको बैठकपछि दुवै जना महामन्त्री कार्यवाहक सभापति खड्काकाे गल्फुटारस्थित निवासमा भेट्न पुगेका थिए।
जहाँ पुगेर दुवै जना मंसिरभित्र १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने गरी कार्य तालिका ल्याउन सहमति खोजे। तर महामन्त्री द्वयको कुरामा उनी प्रस्ट सहमति दिएनन्।
‘महामन्त्री दाइहरूले कार्यवाहक सभापतिलाई सभापति(शेरबहादुर देउवा)ले दिएको कार्यभार पूरा गर्न सुझाव दिनुभयो। त्यो भनेको महाधिवेशन पनि हो,’ स्रोतले भन्यो,‘तपाईँ आफ्नो जिम्मेवारी पूरा गर्नुस् भनेर उहाँहरूले भन्नुभयो।’
कार्यवाहक सभापति खड्काले आफूले पनि समयमै महाधिवेशन गर्न चाहे पनि टिमले नमानेको बताएको महामन्त्रीनिकट स्रोतले दाबी ग¥यो। ‘उहाँले मेरो टिमले मानेन, म अझै मनाउने कोसिसमा छु। तपाईँहरू पनि कुरा गर्नुस् भनेर महामन्त्रीहरूलाई भन्नुभएको छ,’ स्रोतले भन्यो।
प्रकाशित: १४ कार्तिक २०८२ १४:०९ शुक्रबार





