७ आश्विन २०८२ मंगलबार
image/svg+xml ८:१ पूर्वाह्न
राजनीति

‘एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन्, माकुराको जालोमा भैँसी पर्दैन’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कमजोर पार्न बुनिएका षड्यन्त्रका तानाबानालाई ‘माकुरोको जालो’ को संज्ञा दिँदै त्यस्तो जालोमा ‘भैँसी’ कहिल्यै नपर्ने बताएका छन्।

पार्टीभित्र र बाहिरबाट भइरहेका षड्यन्त्र चिर्दै अघि बढ्ने उद्घोष गर्दै उनले एमालेलाई कसैले हराउन नसक्ने बताए।

एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेसँगै पार्टीमा नयाँ ध्रुवीकरणको चर्चा चलिरहेको बेला अध्यक्ष ओलीले स्वार्थी समूहले ‘आफूविनाको एमाले’ देख्न चाहेको भन्दै टिप्पणी गरे।

जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन। हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन।’

अध्यक्ष ओलीले एमालेमा लामो समय लाभ लिएका केही नेताहरूले नै पार्टी सिध्याउने षड्यन्त्र गरिरहेको संकेत गर्दै त्यस्ता कामना कहिल्यै पूरा नहुने बताए।

‘एमालेविनाको देश र केपी ओलीविनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन,’ उनले भने, ‘एमाले साना स्वार्थ बोक्ने पार्टी होइन। यसको काँधमा देश बनाउने महान् उद्देश्य छ।’

प्रकाशित: २९ असार २०८२ १७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App