जेन-जी आन्दोलनका क्रममा २३ भदौमा काठमाडौँमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले राज्यका तर्फबाट भएको दमनका कारण आफू मन्त्री पदमा बस्ने नैतिकता नरहेको भन्दै राजीनामा दिएको घोषणा गरेका थिए । भलै उनको निजी सचिवालयले भने मुख्यमन्त्री समक्ष राजीनामा पठाएको दाबी भने गर्छ । ‘भदौ २४ मा राजीनामा पठाइएको पनि छ,स्वीकृत हुने नहुने त्यो मुख्यमन्त्री ज्यूको हातको कुरा भयो,’ उनको सचिवालय स्रोतले भन्यो ।
यस्तै लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण प्रसाद कलवारले पनि मन्त्री पदबाट राजीनामा दिएको खबर सार्वजनिक भयो । आफू सुरक्षित हुनका लागि उनको परिवारबाट मन्त्री कलवारले राजीनामा दिएको बताए । तर मन्त्रीको सचिवालयले अहिले मन्त्री कलवारले पदबाट राजीनामा नदिएको बताउँछ । ‘मन्त्री ज्यूले राजीनामा दिनु भएको छैन,’ उनको सचिवालय स्रोतले भन्यो ‘मुख्यमन्त्रीलाई राजीनामा बुझाइएको छैन ।’ मन्त्री कलवारको निजी सचिवालय स्रोतका अनुसार २४ भदौमा जेन-जीको नाममा आगजनीमा उत्रिएको समूह नवलपरासी पश्चिम स्थित मन्त्री कलवारको घर पुगेको थियो ।
आगजनी गर्नका लागि भन्दै पुगेको उक्त समूहलाई आगजनीबाट रोक्न मन्त्री कलवारको परिवारले मन्त्री पदबाट राजीनामा दिइसकिएको भनेको थियो । ‘मन्त्री ज्यूको घरमा आगजनी गर्न आन्दोलनकारी समूह आएपछि उनीहरूलाई रोक्नका लागि परिवारका तर्फबाट राजीनामा दिइसकेको भनिएको थियो,’ मन्त्री कलवारको निजी सचिवालय स्रोतले भन्यो ‘यही विषयलाई लिएर राजीनामा दिएको भनी प्रचारबाजी भयो ।’ मन्त्री पदबाट राजीनामा दिइसकिएको भनेर आन्दोलनकारीलाई रोक्ने प्रयास गरिए पनि आन्दोलनकारी भने रोकिएनन् । मन्त्री कलवारको घरमा त्यो समूहले गरेको आगजनीबाट घर पूर्णरुपमा क्षतीग्रस्त छ ।
तर मुख्यमन्त्री कार्यालयले भने अहिले सम्म कुनै पनि मन्त्रीको राजीनामा आधिकारिक रुपमा मुख्यमन्त्री समक्ष नपुगेको बताउँछ । फलतः सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट हठातमा राजीनामा घोषणा गरेको बुझिन्छ । ‘प्रदेशका कुनै पनि मन्त्रीहरूको राजीनामा मुख्यमन्त्री ज्यू समक्ष आएको छैन,’ मुख्यमन्त्रीको निजी सचिवालय स्रोतले भन्यो ।
प्रदेश सरकारले आन्दोलनका क्रममा सिर्जित विध्वंसबाट जोगिनका लागि पनि कसैले सामाजिक सञ्जालबाट हतारमा राजीनामा घोषणा गरेको देखिएको जनाएको छ । सरकारका प्रवक्ता एवं कृषि मन्त्री दिनेश पन्थीले आन्दोलनका क्रममा सिर्जित घटनाक्रमबाट सुरक्षित रहनका लागि सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेको देखिएको तर आधिकारिक रुपमा सरकार समक्ष राजीनामा कसैको पनि नआएको बताए । ‘आन्दोलनका कारण परिस्थिति निकै जटिल थियो, तपाइलाई थाहै छ,’ सरकारका प्रवक्ता पन्थीले भने ‘यो अवस्थामा टार्गेटमा परेका जनप्रतिनिधिहरूले असुरक्षित महशुस गर्दै फेसबुक मार्फत राजीनामा दिएको पाइन्छ,तर यसको आधिकारिकता रहन्न, आधिकारिक रुपमा सम्बन्धित ठाउँमा नपुगेका राजीनामालाई आधिकारिकता मान्ने कुरा हुँदैन ।’
घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले पनि उपप्रमुख पदबाट राजीनामा दिएको घोषणा फेसबुक मार्फत नै गरिन् ।तर यो राजीनामा पनि आधिकारिक नरहेको डिसी बताउँछिन् । ‘म बाध्य भएर राजीनामा दिएको भन्दै फेसबुकमा लेखेको हुँ,’ उनले भनिन् ‘मेरो राजीनामा आधिकारिक हैन, म अहिले पनि उपप्रमुख नै हो ।’ डिसीका अनुसार उनलाई आन्दोलनकारी बताउनेहरूले अपरिचित फोन नम्बरहरूका बाट राजीनामाका लागि धम्की दिइरहेका थिए । उपमहानगरको उपप्रमुख सहित उनको दलको समस्याबाट समेत राजीनामा दिन आफलाई दबाब आएको उनले बताइन् ।
‘नचिनेका नम्बरहरूबाट मलाई राजीनामा दिनका लागि तारन्तार दबाब आयो,’ उनले भनिन् ‘तारन्तार धम्की आउन थालेपछि परिवारका सदस्यहरू पनि आत्तिए र राजीनामा दिन भनेर रुन कराउन थाले, अनि मैले फेसबुक मार्फत राजीनामा दिएको भनेर लेखेको हुँ, मैले यो सबै आफ्नो असुरक्षाका कारण गर्न बाध्य भएँ ।’ आफ्नो सुरक्षाका लागि राजीनामा घोषणा गरेर फेसबुकमा लेखेकी हुमाले आफू अहिले पनि जनप्रतिनिधि कायम रहेको बताइन् । ‘मलाई जनताले मत दिएर जिताएर पठाउनु भएको हो, म अहिले नै पदबाट बाहिरिने कुरा हुँदैन,’ उनले भनिन् । आफू अनि घरमा क्षती नपुगोस् भन्ने उद्देश्यले डिसीले राजीनामा घोषणा गरेको भएपनि आन्दोलनकारीहरूले उनको घर तोडफोड गरेका थिए ।
स्थानीय तहका थुप्रै जनप्रतिनिधिहरूले यो बेला आन्दोलनको घोषणा गरेका छन् । घोराही उपमहानगरकै उपप्रमुख सहित धेरै वडा सदस्यहरूले समेत राजीनामा घोषणा गरेको कुरा जानकारीमा आएको भन्दै उपमहानगरका प्रमुख नरुलाल चौधरीले यो विषयमा सम्बन्धित व्यक्तिसँग अहिले सम्म आफ्नो कुनै कुराकानी नभएको बताए । ‘फेसबुकमा राजीनामा दिएका कुराहरु म कहाँ धेरैको आएको छ, तर राजीनामा घोषणा गरिएका भनिएका कसैसँग पनि मेरो कुराकानी भएको छैन,’नगरप्रमुख चौधरीले भने ‘उहाँहरूले राजीनामा घोषणा कसरी र किन गर्नु भएको हो ? यो कुराकानी पछि के गर्ने भन्ने निष्कर्षमा पुगिएला ।’
प्रकाशित: ३० भाद्र २०८२ १८:०७ सोमबार





