१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्छ : जसपा नेपाल

जनता समाजवादी पार्टी (जसपा) नेपालले शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको जिम्मेवारी राज्यले नै लिनुपर्ने माग गरेको छ। बुधबार प्रधानमन्त्रीलाई २८ बुँदे ज्ञापनपत्र बुझाएको जसपा नेपालले शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र व्यापारीकरणको अन्त्य गरी सबैका लागि समान एवं व्यवसायिक गुणात्मक शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको जिम्मेवारी लिनुपर्ने माग राखेको छ।

पार्टीले सरकारले अत्यन्त गरिब एवं विपन्न वर्ग तथा लोपोन्मुख सीमान्तकृत दलित र महिलाहरूका लागि निःशुल्क शिक्षा, प्राविधिक तालिम र रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

‘नेपाल सरकारले गर्ने राजनीतिक नियुक्तिहरूमा भाग–बण्डाको अन्त्य गरी योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा समानुपातिक समावेशी हुने गरी नियुक्ति गरिने व्यवस्था गरिनुपर्दछ,’ जसपा नेपालले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।

जसपा नेपालले सङ्घर्षका कार्यक्रमअन्तर्गत बिहीबारदेखि (मङ्सीर ११ देखि १५ गतेसम्म) प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्न लागेको छ।

सरकारले जनसवालका माग र मुद्दाहरू बेवास्ता गरेपछि चरणबद्ध सङ्घर्षमा उत्रनुपरेको र अन्ततः सङ्घर्षका कार्यक्रममार्फत पार्टी जनतामाझ जाने निर्णयमा पुगेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतको भनाइ छ।

प्रकाशित: ११ मंसिर २०८२ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App