४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

ओलीले रविबाट थालेको प्रतिशोधको शृंखला आरजुमा टुंगिन्छ: वर्षमान

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक प्रतिशोधको बाटोमा लागेको आरोप लगाएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबाट सुरु भएको प्रतिशोधको शृंखला नेपाली कांग्रेसकी नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेर टुंगिने दाबी गरे।

पार्टीसम्बद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पुनले प्रधानमन्त्री ओलीले विरोधीलाई ठेगान लगाउने नाममा मुद्दा लगाउने, पार्टी फुटाउने वा आफूमा गाभ्ने नीति लिएको टिप्पणी गरे। ‘ओलीजी निरंकुश, स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस हुनुहुन्छ,’ उनले भने।

पुनले थप भने, ‘रवि लामिछानेलाई सहकारी ठगीमा थुनेर पार्टी फुटाइदिने, माधव नेपाललाई मुद्दा लगाएर एकीकृत समाजवादीलाई एमालेमा गाभ्ने, उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने उहाँको नियत छ।’

उनले कांग्रेस नेतृत्वलाई तर्साउन आरजु राणालाई समेत मुद्दा लगाउने तयारी भइरहेको दाबी गरे। ‘हेर्दै जानुस्, कांग्रेस गठबन्धनबाट अलिकति चलमलाउन थाल्यो भने उहाँले कुनै न कुनै नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नुभएको छ,’ पुनले भने, ‘अब आरजुका आमाछोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ।’

उनले भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको समेत बताए।

उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समेत फसाउन ओलीले एक वर्षअघिदेखि नै प्रयास गरेको आरोप लगाए।

‘सीआईबी, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट केही नभेटिएपछि उहाँका पूर्व पीए विकेश श्रेष्ठमार्फत तान्न सकिन्छ कि भनेर शेरा दरबारतिर लाग्नुभयो,’ पुनले भने, ‘तर प्रचण्डले यति, ओम्नीदेखि गिरिबन्धुसम्मका सबै प्रकरण छानबिन गर्नुपर्छ भनेपछि ओलीजी चुप लाग्नुभयो।’ 

सरकारको एक वर्षे कार्यकाल भ्रष्टाचार र बेथितिमै बितेको आरोप लगाउँदै उनले भने, ‘एक वर्षमा सरकारले बिचौलिया पोस्ने कामबाहेक केही गरेको छैन। भर्खरै घूस मागेका एक मन्त्रीले राजीनामा दिए, अर्काको घूस डिल गरेको अडियो सार्वजनिक भएको छ।’ 

आफूहरू ओलीको एकाधिकारवादी र निरंकुश प्रवृत्तिविरुद्ध लडिरहेको बताउँदै पुनले माओवादीभित्र कसैले भाँडभैलो मचाउन नसक्ने जिकिर गरे।

प्रकाशित: ३ श्रावण २०८२ १६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App