४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

नयाँ पुस्ताको उदयले राजनीतिमा तरङ्ग, दलहरू युवा खोज्न बाध्य भए: पूर्व आयुक्त पोखरेल

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपाली राजनीतिमा नयाँ पुस्ता (जेन-जी) र नयाँ दलहरूको उदयले ठूलो तरङ्ग ल्याएको बताएका छन्।

उनले हिजोसम्म युवालाई बेवास्ता गर्ने पुराना दलहरू आज युवा उम्मेदवार खोज्न बाध्य भएको टिप्पणी गरे।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै पोखरेलले निर्वाचनमार्फत देखिएको नयाँ पुस्ताको हस्तक्षेपले राजनीतिलाई रूपान्तरणको बाटोमा लगेको बताए।

पोखरेलले विगतमा ४० वर्ष मुनिका वा नयाँ पुस्तालाई दलहरूले कुनै महत्व नदिने गरेको स्मरण गर्दै अहिले परिस्थिति बदलिएको सुनाए।

‘हिजोसम्म ४० वर्ष मुनिका अथवा जेन-जी पुस्तालाई महत्व दिनुपर्छ भन्ने कुरा कहीँ थिएन, तर आज युवा राजनीतिको केन्द्रमा स्थापित भइसके,’ पोखरेलले भने, ‘अहिले सबै दलहरू कसरी युवालाई उम्मेदवार बनाउने भनेर तँछाडमछाड गरिरहेका छन्। कतिपय अवस्थामा त खोज्दा पनि युवा नपाइरहेको अवस्था देखिन्छ। यो राजनीतिमा आएको ठूलो रूपान्तरण हो।’

अहिलेको राजनीतिमा पुराना स्थापित दल र नयाँ उदाएका शक्तिहरूको सम्मिश्रण रहेको उल्लेख गर्दै उनले एक-अर्कालाई स्वीकार गर्न नसक्दा केही अन्योल र ध्रुवीकरण बढेको विश्लेषण गरे।

‘अहिले राजनीतिमा नयाँ र पुराना विभिन्न किसिमका दलहरूको सम्मिश्रण छ। पुरानाले नयाँलाई र नयाँले पुरानालाई पूर्ण रूपमा चिनिनसकेको वा स्वीकार नगरिसकेको अवस्था छ,’ पोखरेलले भने, ‘यसले समाजमा एक खालको ध्रुवीकरण ल्याएको छ। तर, यो लोकतान्त्रिक अभ्यासकै एउटा चरण हो।’

नयाँ खेलाडीहरू मैदानमा आएपछि पुरानाले पनि आफ्नो रणनीति बदल्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘अहिलेका खेलाडीहरू मैदानमा उत्रिएका छन्, भोलिका दिनमा खेल हुँदा नयाँ मान्छेलाई ध्यान दिनुपर्ने रहेछ, हामीले मात्र खेलेर नहुने रहेछ भन्ने कुरा पुराना दलहरूले महसुस गर्न थालेका छन्,’ उनले सुनाए।

पोखरेलले परम्परागत शक्तिहरूले हामी नभए ब्रह्माण्ड नै रहँदैन भन्ने किसिमको भ्रम पालेर बसेकोमा पछिल्ला निर्वाचन परिणामहरूले त्यो भ्रमलाई चिर्दै दिएको दाबी समेत गरे।

प्रकाशित: ७ माघ २०८२ १९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App