निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनले मुलुकलाई अनुशासनको लयभित्र ल्याउने बताएका छन्। आयोगले शुक्रबार गरेको ‘निर्वाचन र आम सञ्चार’ विषयक कार्यशालामा आयुक्त भण्डारीले यस्तो बताएका हुन्।
उनले निर्वाचनले मुलुकमा शान्ति सुरक्षा कायम गर्दै सुशासन प्रवाह गर्न सक्षम व्यक्तित्व चयन गर्ने अवसर समेत मिलेको बताए। भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछिको विषम परिस्थितिबाट निर्वाचनको मिति घोषणा भएको उल्लेख गरे। देश अब निर्वाचनको ढोकामा प्रवेश गरिसकेको बताउँदै उनले मतदाताले उम्मेदवारलाई छान्ने समय आएको जिकिर गरे। जसबाट मतदाता पछि हट्न नहुने उनको भनाइ छ।
‘मतदाताहरू यो निर्वाचनको प्रकृयाबाट छुट्नु भयो भने मतदाताले चाहना राखेको र उनीहरूले गर्न खोजेको कुराबाट जनता वञ्चित हुने हो,' आयुक्त भण्डारीले भने, 'त्यसैले सुशासन प्रवाह गर्न सक्ने क्यान्डिडेटलाई स्वतन्त्र रूपमा मतदान गर्नुस्। तपाईँले दिएको मतले मात्रै हो देशमा सुशासन प्रवाह हुने हैन भने हुँदैन।’
उनले प्रत्येक मतदाता र सरोकारवालाले निर्वाचनलाई सफल बनाउन आ-आफ्नो स्थानबाट सक्रिय हुन आग्रह समेत गरे।
प्रकाशित: १ फाल्गुन २०८२ १३:५२ शुक्रबार





