प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौं–तराई/मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत उनले उक्त सडकले काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताएका हुन्।
‘द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न समस्याबारे हिजो राति गहन छलफल भयो। खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ। वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ। हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु,’ प्रधानमन्त्री ओलीले लेखे।
उनले काठमाडौं–तराई/मधेश द्रूतमार्ग मुलुकको रणनीतिक महत्त्वको सडक आयोजना भएकाले नेपाली सेनाले निर्माण गरिरहेको उल्लेख गरेका छन्। रासस
प्रकाशित: १२ श्रावण २०८२ २०:०८ सोमबार





