२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

'प्रधानमन्त्रीले संसद्‍मा बोलेका भनाइले उहाँ आफैँले आफूमाथि शंका उब्जाउनुभएको हो'

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रियतामाथि आफूलाई कुनै शंका नरहेको बताएका छन्। प्रधानमन्त्रीले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न सार्वजनिक रूपमा आग्रह गरेपछि रिजालले यस्तो प्रतिक्रिया दिएका हुन्।

रिजालले प्रधानमन्त्रीको राष्ट्रियतामाथि आफूलाई ‘रत्तिभर पनि शंका’ नभएको उल्लेख गरेका छन्। तर संसद्मा प्रधानमन्त्रीले व्यक्त गरेका केही भनाइबाट भने स्वयं प्रधानमन्त्रीले नै शंका उब्जाउने अवस्था सिर्जना गरेको उनको टिप्पणी छ।

'प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न सार्वजनिक रूपमै आग्रह गर्नुभएछ। मलाई मेरो देशको प्रधानमन्त्रीको राष्ट्रियताप्रति रत्तिभर शंका छैन। तर, संसद्मा जे बोल्नुभएको थियो, त्यसबाट उहाँ आफैँले शंका उब्जाउनुभएको थियो,' रिजालले भनेका छन्।

प्रधानमन्त्रीले चितवन पुगेर आफ्नो धारणा स्पष्ट पारेको भन्दै उनले त्यसलाई सकारात्मक रूपमा लिएका छन्। यद्यपि संसदबाटै स्पष्ट पारिएको भए अझ उपयुक्त हुने उनको भनाइ छ।

रिजालले प्रधानमन्त्रीले जनताबाट प्रचण्ड बहुमत र ठूलो जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै अब त्यसको परिणाम देखाउनुपर्ने बताएका छन्। उनले उत्तर र दक्षिण दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्दै राष्ट्रिय हितसँग जोडिएका थाँती विषयमा ठोस उपलब्धि हासिल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री सफल भए आज शंका र प्रश्न उठाउनेहरू नै भोलि प्रशंसा गर्न अग्रपंक्तिमा उभिने दाबी गर्दै रिजालले देशका लागि काम र उपलब्धि नै मुख्य विषय हुने बताएका छन्।

'जनताको प्रचण्ड बहुमत पाउनुभएको छ, तपाईंप्रति नागरिकको ठूलो आशा छ। '३५ वर्षमा अरुले केही गर्न सकेनन्' भन्ने 'न्यारेटिभ'का साथ स्पष्ट बहुमतसहित पाँच वर्षका लागि सत्तामा आउनुभएको छ। उत्तर–दक्षिण दुवैतिरका छिमेकीलाई राम्ररी मिलाउनूस्। थाँती रहेका विषयहरूमा ठोस उपलब्धि हासिल गर्नूस्। यति गर्न सक्दा आज तपाईंप्रति शंका र प्रश्न गर्नेहरू नै भोलि प्रशंसा गर्न अग्रपंक्तिमा उभिनेछन्,' रिजालले सामाजिक सञ्जालमा लेखे, 'अन्यथा, धेरै बोल्नु वा कम बोल्नु, कुनै देशको भ्रमण गर्नु वा नगर्नु अथवा कुनै विदेशीलाई भेट्नु वा नभेट्नुले देशका लागि कुनै अर्थ राख्दैन।'

प्रकाशित: ८ असार २०८३ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App