१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘प्रधानमन्त्री आफैंले रविमाथि प्रतिशोध भएको भन्नुभएको थियो, सरकारले पुनर्विचार गरोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको कुरामा प्रधानमन्त्री स्वयं जानकार रहेको दाबी गर्दै उनको मुद्दालाई पुनर्विचार गर्न सरकारसमक्ष माग गरेको छ।

मंगलबार नख्खु कारागारमा सभापति लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले उक्त माग अघि सारेका हुन्।

‘रवि लामिछानेलाई भन्दा पनि बढी जानकार सम्माननीय प्रधानमन्त्री हुनुहुँदो रहेछ भन्ने सूचना हामीलाई आएको छ,’ वाग्लेले भने, ‘उहाँले हामीलाई पनि थाहा नभएका, भित्र-भित्र कुन हदसम्मको षड्यन्त्र गरिएको रहेछ भन्ने कुरा परिवारजनमाझ व्यक्त गर्नुभएको थियो।’

उनले लामिछानेमाथिको कारबाहीलाई पूर्ववर्ती सरकारले सुरु गरेको ‘प्रतिशोधको राजनीतिको शृङ्खला’ को रूपमा व्याख्या गरे। उपसभापति वाग्लेले भने, ‘यो प्रतिशोधको राजनीतिको उद्गमस्थल भनेको क्याबिनेट बैठक हो। पहिलेको सरकारले जुन दुराशय राखेर यो अगाडि बढाएको थियो, त्यसमा अहिलेको सरकारले पुनर्विचार गर्नुपर्छ।’

पार्टीले सरकारलाई ‘कोर्स करेक्सन’ गर्न अर्थात् विगतको गल्ती सच्याउन आग्रह गरेको छ। यसका लागि सहकारी छानबिनसम्बन्धी संसदीय समितिको प्रतिवेदन र त्यसलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयको पुनरावलोकन गरिनुपर्ने रास्वपाको माग छ।

‘हामीले अदालतको प्रक्रियामा हस्तक्षेप गर्न खोजेका होइनौं, तर प्रतिशोधको राजनीति सुरु गर्ने कार्यकारी निकायले नै यसमा विवेक पुर्याउनुपर्छ,’ वाग्लेले भने।

रास्वपाले लामिछानेमाथिको मुद्दा चुनावी रणनीतिको रूपमा नभई न्यायको लडाइँ भएको बताए। वाग्लेले भने, ‘यो अन्यायको जुन अभ्यास गरियो, एक किसिमको प्रयोग गरियो, त्यसलाई सच्याएर एउटा मोडेरेट पाथमा, न्याय दिने बाटोमा हामी अग्रसर हुनुपर्छ।’

विगतमा केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन गृहमन्त्री रमेश लेखकले नै लामिछानेलाई फसाउने प्रपञ्च रचेको रास्वपाको आरोप छ।

सोही सरकारले अघि बढाएको प्रक्रियालाई वर्तमान सरकारले पुनर्विचार गरी न्यायको मार्गमा ल्याउनुपर्नेमा पार्टीले जोड दिएको छ।

रास्वपाका नेताहरूले लामिछानेमाथिको मुद्दा राजनीतिक प्रतिशोध भएको भन्दै यसको विरुद्धमा कानुनी र राजनीतिक लडाइँ जारी राख्ने बताएका छन्।

प्रकाशित: २ मंसिर २०८२ १५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App