प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका नगर प्रमुखहरूसँग छलफल गरेकी छन्।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा आसन्न निर्वाचन, उपत्यकाको फोहोर व्यवस्थापन, सुरक्षा चुनौती र विकास निर्माणका विषयमा छलफल भए पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह भने अनुपस्थित रहे।
छलफलमा अधिकांश नगरपालिकाका प्रमुखहरूको उपस्थिति रहे पनि उपत्यकाको समस्या समाधानमा सबैभन्दा महत्वपूर्ण मानिने काठमाडौंका प्रमुख शाहको अनुपस्थिति रह्यो।
भेटमा मेयरहरूले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नेमा विश्वास व्यक्त गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनीहरूले दलीय सरकारले गर्न नसकेका ‘बोल्ड’ निर्णयहरू गर्न गैरदलीय सरकारलाई आग्रह गर्दै आफूहरूले भोगिरहेका समस्याहरूको लामो सूची प्रस्तुत गरे।
मेयरहरूका साझा मागहरूमा फोहोर व्यवस्थापनको गाँठो फुकाइदिन र सडक बत्तीको वर्षौंदेखिको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन आग्रह प्रमुख थियो।
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत संघीय सरकारले तिर्ने व्यवस्था गर्न माग गरे।
त्यस्तै, जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको सामना गर्न र स्थानीय तहका कार्यालयहरू सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउन पनि उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले आन्दोलनका नाममा लुटपाट मच्चाउनेलाई कारबाही गर्न माग गरे भने कीर्तिपुरका मेयरले बसपार्क र अस्पतालका लागि त्रिविको जग्गा उपलब्ध गराउन आग्रह गरे।
टोखाका मेयरले टोखा-छहरे सडक विस्तारका लागि मुआब्जा दिने निर्णय गर्न र चाँगुनारायणका मेयरले सल्लाघारी-नगरकोट सडक छिटो निर्माण गर्न अनुरोध गरे।
प्रधानमन्त्रीको जवाफ: अहिलेको ध्यान निर्वाचनमा, युवाको वितृष्णा बुझ्नुपर्छ
मेयरहरूका गुनासा सुनेपछि प्रधानमन्त्री कार्कीले आफ्नो सरकारको मुख्य प्राथमिकता निर्वाचन गराउनु रहेको स्पष्ट पारिन्।
उनले भनिन्, ‘एकातिर निर्वाचन मात्र गराऊ, अरु काम नगर भन्ने कुरा पनि उठेको छ। अब त चुनावको आचारसंहिता पनि लाग्ला। तैपनि तपाईंहरुले अघि सार्नुभएका समस्यामा केकति गर्न सकिन्छ, हेरौँला।’
प्रधानमन्त्री कार्कीले देशको वर्तमान अवस्था र युवाहरूको आक्रोशलाई गहिरोसँग मनन गर्नुपर्नेमा जोड दिइन्। ‘विगत ३०-३५ वर्षदेखि एकैथरीले एकलौटी शासन गरेको कुराले पनि युवामा वितृष्णा भएको देखिन्छ,’ उनले भनिन्, ‘अब युवालाई अघि बढ्न दिनुपर्छ। उहाँहरुको सोचअनुसार हाम्रो दिमाग चल्न सक्दैन। प्रविधिसँगै हुर्केको पुस्ता हामीसँग असन्तुष्ट छ भनेर बुझ्नुपर्छ।’
उनले समाज बिग्रे पनि भागेर जानुको सट्टा सबै मिलेरै बनाउनुपर्ने धारणा राखे।
प्रकाशित: १ मंसिर २०८२ २०:३३ सोमबार





