२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले महाधिवेशनमा जाम भन्नुभएको थियो, मैले रुचि छैन भने: मन्त्री पुन

नवप्रवर्धन मन्त्री महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन निमन्त्रणा पाए पनि आफ्नो रुचि र बानी नभएका कारण नगएको बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले प्रधानमन्त्री स्वयंले आफूलाई महाधिवेशनमा जान आग्रह गरेको बताए। तर, त्यस्ता औपचारिक कार्यक्रममा गएर उपस्थिति मात्र जनाउनुको कुनै औचित्य नहुने भएकाले आफू सहभागी नभएको उनको भनाइ थियो।

उनले भने- ‘प्रधानमन्त्रीले नै जाम जाम भन्नुभएको थियो। मेरो चाहिँ यस्तो महाधिवेशन, सभा सम्मेलनमा जाने बानी छैन, त्यसैले नगएको हो। गएर पनि उपस्थिति मात्र जनाउने हो, त्यसको केही अर्थ हुँदैन। अर्थ नहुने काम के गर्नु।’

नवप्रवर्धनका कामहरूको प्रगतिबारे सोधिएको प्रश्नमा मन्त्री पुनले हाल कागजी काम र छलफल मात्र भइरहेको जानकारी दिए। विज्ञान प्रविधि तथा नवप्रवर्धनसम्बन्धी मूल ऐन नबनेसम्म आगामी कम्तीमा चार महिना फिल्डमा कुनै ठोस काम हुन नसक्ने उनको भनाइ छ।

मन्त्री पुनले भने, ‘अनुसन्धान र नवप्रवर्धन प्रयोगशाला र फिल्डमा गर्ने काम हो। तर मूल ऐन नबनेसम्म कागजी काममै सीमित हुनुपर्ने अवस्था छ। चार महिनापछि पनि तुरुन्तै ठुलो परिवर्तन हुने होइन, यो मानव अस्तित्व रहेसम्म चलिरहने निरन्तर प्रक्रिया हो।’

यसै क्रममा उनले कानुन निर्माणको सुस्त गतिप्रति समेत असन्तुष्टि व्यक्त गरे। संसदीय समितिमा विधि विज्ञानसम्बन्धी ऐनको सयौं पृष्ठमध्ये एक दिनमा जम्मा तीन पृष्ठ मात्र छलफल भएको भन्दै उनले आश्चर्य प्रकट गरे।

पछिल्लो समय मन्त्री पुन हरेक दिन अनुसन्धान र नवप्रवर्धनसम्बन्धी नयाँ सोच लिएर आउने विभिन्न क्षेत्रका अनुसन्धानकर्ता र नवप्रवर्धकहरूसँगको नियमित छलफलमा व्यस्त छन्।

प्रकाशित: १७ असार २०८३ १६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App