२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीकै कारण देश ऊर्जामा आत्मनिर्भर बनेको होः पुन

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुनले आफूहरुको सरकारले लिएको नीतिका कारण मुलुक जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनेको बताएका छन्।

बुधबार राजधानीमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा पुनले नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाउने काम आफूहरुले गरेको बताए।

नीतिगत निरन्तरताका कारण जलविद्युत क्षेत्रमा उल्लेख्य प्रगति भएको उनको भनाइ थियो। दाहाल नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले २० वर्षअघि लिएको नीतिगत निरन्तरता ऊर्जा क्षेत्रमा अझै रहेको बताए। सोही नीतिका कारण जलविद्युत उत्पादन बढेको र मुलुक लोडसेडिङ मुक्त भएको पुनले उल्लेख गरे।

‘नेपालमा नीतिगत निरन्तरता छैन भन्ने गरिन्छ। तर उर्जा क्षेत्र खासगरी जलविद्युत क्षेत्रमा, नविकरणीय उर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ। झन्डै दुई दशकदेखि एउटै नीति छ। जसको परिणाम आज हामी कुनै बेला १८ घण्टासम्म लोडसेडिङ हुने देशमा थियौँ, त्यो अन्त्य भयो।’

नीतिगत निरन्तरताले गर्दा नै विद्युत छिमेकमा निर्यात गर्ने वातावरण बनेको उनले औंल्याए। 

पुनले नदी प्रवाह (आरओआर)  मा आधारित आयोजनाले मात्र भविष्यमा माग धान्न नसक्ने भएकाले जलाशययुक्त आयोजनामा जोड दिइनुपर्ने बताए। हिउँदमा माग धान्न नसक्ने अवस्थाको अन्त्य गर्न पनि जलासययुक्त आयोजनामा जानैपर्नेमा उनले जोड दिए।

विद्युत निर्यातका लागि भारत र बंगलादेशजस्ता क्षेत्रीय बजारका ढोका खुलिसकेकाले उत्पादित विद्युत बिक्रीका लागि बजारको अभाव नहुनेमा निजी क्षेत्रका विद्युत उत्पादकहरुलाई आश्वस्त तुल्याए।

प्रकाशित: ११ भाद्र २०८२ १६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App