५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

भैरहवामा रास्वपा संसदीय दलको बैठक, एजेण्डा के छन्?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा चलिरहेको छ। भैरहवाको रमादा होटलमा चलिरहेको बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू सहभागी छन्।  

संसद्को चलिरहेको अधिवेशनको समीक्षा, ‘कूलिङ अफ पिरियड’, संवैधानिक निकायको कामकारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। ‘अहिले संसद्मा चलिरहेको संसदीय गतिविधिको समीक्षा, ‘भिजिट भिसा’ को आवरणमा भएको भ्रष्टाचारलाई सङ्ख्याको आधारमा सत्तापक्षले सुनुवाइ नगरेकोलगायत बहुआयामिक पक्षमा छलफल गर्नेछौँ,’ उनले भने।  

सञ्चारकर्मीसँगको कुराकानीमा परियारले संसद्जस्तो सार्वभौम कानुन बनाउने विधायिकामा पनि कार्यपालिकासहित पार्टीको हस्तक्षेपका विषयमा छलफल गरिने उल्लेख गरे। उनले भने, ‘संसद्मा निजामती सङ्घीय विधेयकमाथिको ‘कूलिङ अफ पिरियड’ का बारेमा पनि छलफल गर्नेछौँ।’  

रास्वपाले चलाएको हस्ताक्षर अभियानमा केन्द्रीय नेता र सांसदहरू भैरहवा आएको जनाउँदै परियारले लुम्बिनीमा पार्टीको समग्र संरचना बनाउने, रुपन्देही ३ मा हुने उपनिर्वाचनलगायत समयसापेक्ष विषयमा छलफल हुने बताए।  

उनका अनुसार बैठकमा खासगरी बजेट अधिवेशनमा पार्टीको भूमिका, समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल हुनेछ। यसअघि रास्वपाले संसदीय दलको बैठक काठमाडौँबाहिर गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: १४ श्रावण २०८२ १७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App