अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बनको विषय प्रतिनिधि सभामा उठेको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारूढ दलकी सांसद श्रद्धा कुँवर तथा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले एन्फामाथिको निलम्बनप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद कुँवरले विश्व समुदाय फिफा विश्वकपको माहोलमा रमाइरहेका बेला नेपालको फुटबल संकटमा परेको बताइन्। उनले भनिन्, ‘आज विश्व समुदाय फुटबलको महोत्सव फिफा विश्वकपको रौनकमा रमाइरहेको छ। हामी पनि आफ्नो मनपर्ने देशको जर्सी लगाएर समर्थन गरिरहेका छौं। तर, यही बेला आफ्नै देशको फुटबलको अवस्था सम्झँदा हाम्रो शिर गर्वले होइन, चिन्ताले झुक्न बाध्य भएको छ।’
कुँवरले नेपालमा प्रतिभाशाली खेलाडीहरूको अभाव नभएको, तर सुशासन, पारदर्शिता र सक्षम व्यवस्थापनको कमीका कारण फुटबल क्षेत्र संकटमा परेको बताइन्। उनले सीमित स्रोतसाधनमा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा देशको गौरव बढाएको भन्दै एन्फामाथिको निलम्बनको विषयमा छानविन गर्नुपर्ने बताइन्।
त्यस्तै सांसद आरेन राईले फिफाको निलम्बन फुकुवा गराउन सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच तत्काल वार्ता गर्नुपर्ने बताए।
उनले फिफाले उठाएको तेस्रो पक्षको हस्तक्षेपसम्बन्धी विषय समाधान गर्न, खेलकुद ऐन र फिफाका नियमबीच रहेका कानुनी जटिलता हटाउन र खेलकुद क्षेत्रमा हुने राजनीतिक र प्रशासनिक हस्तक्षेप अन्त्य गर्न माग गरे।
राईले राष्ट्रिय टोली र क्लबका खेलाडीहरूको भविष्य सुरक्षित गर्न तथा फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको निलम्बन फुकुवा गराउन आवश्यक कूटनीतिक, कानुनी र प्रशासनिक पहल गर्न सरकारसगँ आग्रह गरे।
प्रकाशित: १४ असार २०८३ १३:१५ आइतबार





