राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुलुकमा अत्यावश्यक सुधारका कार्यहरू अघि बढाउन ‘इमर्जेन्सी’ परेकाले सरकारले अध्यादेश ल्याएको बताएका छन्।
बुधबार सम्पन्न संसदीय दलको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले नियमित कानुनी प्रक्रियाबाट जाँदा समय लाग्ने भएकाले सरकारले अध्यादेशको सहारा लिनुपरेको बताएका हुन्।
‘कतिपय कामहरू तत्कालै गर्नुपर्ने र जनताका अपेक्षाहरू छिटो सम्बोधन गर्नुपर्ने भएकाले अध्यादेश ल्याइएको हो,’ उनले भने, ‘यो आकस्मिक आवश्यकताको उपज हो।’
उनले सरकारले ल्याएको अध्यादेश कसैलाई दुःख दिन वा राजनीतिक प्रतिशोध साध्न नभई प्रशासनिक र नीतिगत जटिलता फुकाउन केन्द्रित रहेको दाबी गरे।
बैठकमा सुकुम्बासी व्यवस्थापन, बजार मूल्य नियन्त्रण र दलीय नियुक्तिहरू सच्याउने विषयमा छलफल भएको समेत उनले जानकारी दिए।
महामन्त्री बुर्लाकोटीले रास्वपा जनअपेक्षा अनुसारको नतिजा दिन प्रतिबद्ध रहेको बताउँदै राज्यका रिक्त निकायहरूलाई पूर्णता दिन र काममा सक्रियता ल्याउन अध्यादेश कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।
प्रकाशित: १६ वैशाख २०८३ १६:२६ बुधबार





