८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

पश्चिम एसिया तनावको असर

इरानी फाैजद्वारा एक नेपाली पक्राउ, लेबनानस्थित शान्ति सेनाको ब्यारेकमा हमला

अमेरिका–इजरायल र इरानबिच तनावको असर नेपालीमाथि पनि पर्न थालेको छ। इरानी फौजले एक नेपालीलाई नियन्त्रणमा लिएको छ भने लेबनानमा नेपाली सेनाको ब्यारेकमा आक्रमण भएको छ। अमेरिका–इजरायल र इरानबिचको द्वन्द्व चर्कंदै जाँदा पश्चिम एसिया प्रभावित भएको छ। खाडी मुलुकमा कार्यरत नेपाली पनि त्यसको मारमा परेका छन्।

इरानी सुरक्षा फौजले धनुषाका अमृत झालाई  नियन्त्रणमा लिएको हो। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार खाडी क्षेत्रको रणनीतिक जलमार्ग ‘होर्मुज’ बाट झालाई इरानी सुरक्षा फौजले नियन्त्रणमा लिएको हो। होर्मुजबाट इरानी सेनाले एउटा व्यापारिक जहाजलाई नियन्त्रणमा लिने क्रममा झा पनि परेका हुन्। झा उक्त जहाजमा क्रू मेम्बर (चालक दल सदस्य) थिए।

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले धनुषाका झा इरानी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरे। खड्काका अनुसार उक्त जहाजसहित सबै क्रू मेम्बरलाई इरानी पक्षले नियन्त्रणमा लिएको हो। त्यसमा झा पनि कार्यरत रहेकाले परेका हुन्। झा उक्त जहाजमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत रहेको खड्काको भनाइ छ। झाका परिवारले उनी सम्पर्कविहीन भएपछि परराष्ट्र मन्त्रालयमा खोजीका लागि निवेदन दिएका थिए। मन्त्रालयले तेहरानस्थित नेपाली दूतावासमार्फत उनको अवस्था बुझ्ने र रिहाइका लागि पहल भइरहेको जनाएको छ।

लेवनानमा नेपाली सेनाको ब्यारेकमा बम आक्रमण

अमेरिका–इजरायल र इरानबिचको युद्धको असर लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम फोर्स (युनिफिल) मा कार्यरत नेपाली सैनिकलाई पनि परेको छ। चैत १ गते राति लेबनानमा नेपाली सैनिकहरू बस्ने ब्यारेकमा बम हमला भएको थियो। लेबनानको दक्षिणतर्फ इजरायली सिमानानजिकै मिस इल जाबेलमा रहेको नेपाली सेनाको बटालियन हेडक्वार्टरमा हमला भए पनि कुनै हताहती भएन्। इजरायली सेना र लेबनानको उग्रवादी समूह हिजबुल्लाहबिच आक्रमण–प्रत्याक्रमण हुने क्रममा नेपाली सैनिकहरूको ब्यारेकमा बम प्रहार भएको थियो। त्यहाँ नेपाली सेनाको विष्णु दल (शान्ति सेना) को ६७औं डफ्फा कार्यरत छ। लेबनानमा ५५४ जना नेपाली शान्ति सैनिक कार्यरत छन्। त्यहाँ रहेका शान्ति सैनिकहरु बंकरमा बसिरहेको सैनिक स्रोतले जनाएको छ। नेपाली शान्ति सैनिक रहेको ब्यारेकमा कसले आक्रमण गरेको हो भन्नेबारे संयुक्त राष्ट्रसंघले भने केही बताएको छैन। सैनिक मुख्यालयले त्यहाँ कार्यरत नेपाली सेना सकुशल रहेको जनाएको छ।

शव पनि अलपत्र

पश्चिम एसियामा बढ्दो तनावले खाडी मुलुकमा विभिन्न कारणले मृत्यु भएका ३६ नेपालीको शव ल्याउन सकिएको छैन। साउदी अरेबिया, कतार, कुवेत, र संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणले ज्यान गुमाएका ३६ नेपालीका शव नेपाल ल्याउन नसकिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार युएईमा १६, कुवेतमा ७, साउदीमा ६ र कतारमा ७ वटा शव छन्। हवाई सेवा रोकिएको र खाडी मुलुकका विमानस्थलहरु बन्द रहेका कारण पनि ती शव ल्याउन नसकिएको हो। खाडी मुलुकका विमानस्थल अस्थायी रूपमा बन्द भएपछि नेपाल आउने र नेपालबाट जाने उडान पनि प्रभावित भएका छन्।

लाखौं नेपाली अलपत्र पर्ने संभावना

युद्धका कारण खाडी मुलुकमा रहेका लाखौं नेपाली अलपत्र पर्ने सम्भावना छ। हवाई सेवा बन्द हुँदा त्यहाँ कार्यरत नेपालीलाई स्वदेश ल्याउन पनि तत्काल सम्भव छैन। युद्ध अझै चर्किएमा त्यहाँ रहेका नेपाली अलपत्र पर्ने देखिएको हो।

परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने नोपलीको अद्यावधिक विवरण संकलन गर्न भनेको छ। कन्सुलर सेवा विभाग विवरण अनलाइन प्रणालीमा दर्ता गर्न सक्रिय छ। सो प्रणालीमा कति नेपालीले विवरण दर्ता गरे भन्ने जानकारी गराइएको छैन। दर्ता विवरण अध्ययन गरी  आवश्यकता अनुसार नेपाल ल्याउने भनिए पनि अहिलेसम्म त्यस्तो प्रक्रिया अघि बढाइएको छैन। इजरायल - अमेरिका र इरानबिचको युद्धका कारण पश्चिम एसियाली देशमा तनाव बढेपछि नेपालीले असुरक्षा महसुस गर्दै आएका छन्। खाडी मुलुकमा १७ लाख २९ हजार नेपाली रहेको बताइएको छ।

प्रकाशित: ७ चैत्र २०८२ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App