१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिगमनलाई सच्याएर प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रतिगामी भएको आरोप लगाउँदै यसलाई सच्याएर प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।

शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई संवैधानिक र कानुनी राजबाट आवेग, उत्तेजना र प्रतिशोधको राजमा परिणत गरिएको बताए।

अध्यक्ष ओलीले सार्वभौमसत्ता सम्पन्न जनताले संविधानअनुसार आवधिक निर्वाचनबाट चुनेको सरकारलाई विघटन गर्ने अधिकार कसैलाई नभएको जिकिर गरे।

उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न जनताले संविधानअनुसार, निर्वाचन आयोगले तोकेअनुसार भएको निर्वाचनबाट, कानुनी सबै प्रक्रिया पूरा गरेर जनताको अभिमतबाट आएको जनप्रतिनिधिहरूको संस्था, सर्वोच्च संस्था, संसद् विघटन गर्ने अधिकार कसले दियो, कहाँबाट पाइयो ?’

उनले वर्तमान सरकार क्रान्तिबाट नभई प्रति-क्रान्तिबाट बनेको आरोप लगाउँदै यसले देशलाई पछाडि धकेलेको बताए। ‘यो प्रति-क्रान्ति हो, यसले देशलाई पछाडि धकेलेको छ,’ उनले भने, ‘शान्तिबाट हिंसा, अराजकतामा धकेलेको छ।’

देशमा डर, त्रासको वातावरण सिर्जना भएको र हरेक व्यवसायी आफ्नो पसल लुटिने हो कि भनेर डराइरहेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले दिनैपिच्छे आफूलाई कसरी गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउने भनेर बैठक बस्ने गरेको दाबी गरे। उनले आफूमाथि मुद्दा लगाउने कुनै कानुनी आधार वा कारण नभएको पनि बताए।

सम्बोधनका क्रममा उनले अवैध सम्पत्ति छानबिनका लागि आफूहरू तयार रहेको पनि स्पष्ट पारे। उनले भने, ‘हाम्रो पार्टीले भनेको छ, कहिलेदेखिको ? सात साल पछि कै छानबिन गर्नुपर्छ भने पनि गरौँ, ४६ सालपछिको छानबिन गर्नुपर्छ भने पनि गरौँ, ६२/६३ सालपछिको छानबिन गर्ने हो भने पनि गरौँ।’

उनले कुनै आम्दानी नभएका व्यक्तिहरू अकस्मात् धनाढ्य भएको भन्दै त्यस्ताको सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले देशभरका कार्यकर्ताहरूलाई देशलाई शान्ति, संविधान र लोकतन्त्रको पक्षमा फर्काउने तयारीमा लाग्न निर्देशन दिए।

उनले प्रतिगमनलाई सच्याउन र प्रतिनिधिसभाको अविलम्ब पुनर्स्थापनाका लागि लाग्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: १ कार्तिक २०८२ १५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App