५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रहितको पक्षमा उभिँदा ‘जेन-जी’ को नाममा सरकार ढालियो: मुख्यमन्त्री कँडेल

चुच्चे नक्साको भूमि नेपालको हो भन्दा सत्तामाथि प्रहार भयो

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा अडान लिँदा तत्कालीन एमाले नेतृत्वको सरकार ढालिएको बताएका छन्।

उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको अडान राख्दा ‘जेन जी’ पुस्ताको नाममा आन्दोलन गराएर सरकार ढालिएको दाबी गरे।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले शनिबार सुर्खेतमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री कँडेलले भने, ‘चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दाबी गर्दा ‘जेन जी’ पुस्ताको नाम प्रयोग गरी आन्दोलन गराइयो र त्यसकै परिणामस्वरूप सरकार ढालियो।’

उनले राष्ट्रियताको पक्षमा लिइएको अडानलाई कमजोरीको रूपमा चित्रण गरेर सत्तामाथि प्रहार गरिएको बताए। ‘देशको माटो बचाउन उठेका कदमलाई कमजोरीका रूपमा चित्रण गरेर सत्ता ढालिएको हो, तर इतिहासले यस्ता राष्ट्रवादी अडानलाई कहिल्यै नकार्दैन,’ कँडेलले भने।

मुख्यमन्त्री कँडेलले ‘जेन जी’ पुस्तालाई प्रगतिशील र रचनात्मक ढंगले संगठित गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले युवा र विद्यार्थी संगठनहरूलाई दर्शक मात्र नभई देश निर्माणको अभियानमा लाग्न आह्वान गरे।

‘अब हामी निर्माण गर्ने पुस्ता हौं, दर्शक बन्ने होइनौं भन्ने सन्देश दिन लागौं,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ।’

उनले गुटबन्दी, विभाजन र स्वार्थी राजनीतिले पार्टी मात्र नभई राष्ट्रलाई नै कमजोर बनाउने भन्दै युवाहरूलाई सचेत रहन आग्रह गरे।

प्रकाशित: ४ आश्विन २०८२ १८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App