२८ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

सरकार दुई तिहाइको दम्भमा छ, कानुनभन्दा माथि कोही हुँदैन: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार दुई तिहाइको दम्भमा परेर कानुनको शासन र लोकतान्त्रिक मूल्यमान्यता विपरीत अघि बढेको आरोप लगाएका छन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सरकार ठुलो भ्रममा रहेको र कानुनको दुरुपयोग भइरहेको भन्दै आपत्ति जनाए।

‘सरकारसँग बहुमत हुन्छ तर कस्तो कानुन बनाउने र त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,’ सभापति थापाले भने, ‘अहिलेको सरकार हिजोको ओली सरकार जस्तै भ्रममा छ। बहुमत छ भन्दैमा जे मन लाग्यो त्यही गर्न पाइँदैन, कानुनभन्दा माथि कोही पनि छैन।’

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे बोल्दै उनले सरकारले संवैधानिक निकायहरूमा आफ्नो नियन्त्रण कायम गर्न खोजेको बताए। अध्यादेश ल्याउने संवैधानिक व्यवस्था भए पनि त्यसको नियत र आवश्यकता सधैँ हेरिनुपर्ने उनको तर्क छ।

संवैधानिक निकायहरूमा सरकार प्रमुखको ‘दादागिरी’ चल्नु लोकतन्त्रका लागि घातक हुने उनले उल्लेख गरे।

सुकुम्बासी बस्तीमा चलाइएको डोजरको सन्दर्भमा बोल्दै सभापति थापाले राज्य बर्बर र क्रुर हुन नपाउने बताए। भूमिहीन दलित र सुकुम्बासीको हक संविधानले नै सुनिश्चित गरेको उल्लेख गर्दै उनले विकल्पविना डोजर आतंक सिर्जना गर्नु गलत भएको बताए।

‘बुद्ध पूर्णिमाका दिन विद्यालय र गुम्बा भत्काउने, अपाङ्ग र सुत्केरीमाथि अपराधी जस्तो व्यवहार गर्ने कार्य स्वीकार्य हुँदैन,’ उनले भने।

सुकुम्बासी समस्याको वस्तुगत अध्ययनका लागि कांग्रेसले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको जानकारी दिँदै उनले पीडितहरूको पक्षमा पार्टी दृढतापूर्वक उभिने स्पष्ट पारे।

‘हामीलाई यसमा कुनै भोटको राजनीति गर्नु छैन, नागरिकको मर्यादा र इज्जतको रक्षा गर्नु राज्यको कर्तव्य हो,’ उनले थपे।

सभापति थापाले लिम्पियाधुरा र लिपुलेकको विषयमा सरकारले पठाएको कुटनैतिक नोट र सुशासनका लागि चालिएका केही कदमहरूको भने पार्टीले समर्थन गर्ने बताए।

राष्ट्रिय मुद्दामा सरकारलाई साथ दिने तर कानुन विपरीतका कार्यको संसद्मा सशक्त प्रतिवाद गर्ने उनले चेतावनी दिए।

प्रकाशित: २३ वैशाख २०८३ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App