२८ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

‘खल्तीको मान्छे’ लाई प्रधानन्यायाधीश बनाउन सरकारले जालझेल गर्‍यो: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आफूअनुकूलको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्को व्यवस्थामा जालझेल गरेको भन्दै आपत्ति जनाएका छन्।

बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले ‘खल्तीको मान्छे’ ल्याउन खोजेको आरोप लगाए।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र परिषद्को बैठक बोलाउने शैलीमाथि प्रश्न उठाउँदै सभापति थापाले सरकारले प्रधानन्यायाधीश नियुक्तिमा नीतिगत भ्रष्टाचार गर्न खोजेको बताए।

‘भोलि साँझ ५ बजे परिषद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री, सभामुख र भोलि आउने कानुनमन्त्री मिलेर कसलाई प्रधानन्यायाधीश बनाउने भन्नेबारे सरकारले पहिले नै खाका तयार पारेको छ,’ उनले भने।

सभापति थापाले योग्य पात्रको सट्टा आफ्ना मान्छे भर्ती गर्ने नियतले संवैधानिक परिषद्को कानुन चलाएको दाबी गरे। हिजो केपी शर्मा ओलीले चालेकै बाटोमा वर्तमान सरकार हिँडेको उल्लेख गर्दै उनले भने, ‘प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा सरकारले खल्तीबाट नाम झिकेर नियुक्ति गर्न खोज्नु आपत्तिजनक छ। यसले न्यायपालिकाको स्वतन्त्रतामाथि नै प्रहार गर्छ।’

सरकारले संसद्को अपमान गर्दै अध्यादेशको सहारा लिएर संवैधानिक अङ्गहरू कब्जा गर्न खोजेको उनको आरोप छ। सरकारले गरेको यस्तो जालझेल विरुद्ध कांग्रेस संसद्मा सशक्त रूपमा उभिने उनले स्पष्ट पारे। ‘हामी न्यायालयलाई राजनीतिको अखडा बनाउन दिँदैनौं,’ सभापति थापाले चेतावनी दिँदै भने, ‘संसद्‌मा हाम्रा साथीहरूले यो विषयमा प्रश्न उठाउनुहुनेछ।’

प्रकाशित: २३ वैशाख २०८३ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App