नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ का संयोजक पुष्पकमल दाहालले विभिन्न कम्युनिष्ट घटकबीचको एकता हुनुमा ‘जेन-जी’ आन्दोलनको महत्वपूर्ण र निर्णायक भूमिका रहेको बताएका छन्।
उनले राजनीतिक दलहरू विभाजनको श्रृंखलामा अघि बढिरहेको बेला युवाहरूको सडक आन्दोलनले आफूहरूलाई घच्घच्याएको र एकताको बाटोमा लाग्न बाध्य पारेको बताए।
बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा संयोजकको जिम्मेवारी सम्हाल्दै दाहालले भने, ‘म ती युवाहरूलाई धन्यवाद भन्न चाहन्छु, तपाईं युवाहरूको आन्दोलनले हामीलाई राम्रैसँग घोंच्यो। हाम्रा कमजोरीहरूप्रति तपाईंहरूले राम्रैसँग उजागर गरिदिनुभयो।’
आफ्नो सम्बोधनमा दाहालले पार्टी एकताको पछाडि जेन-जी आन्दोलन र त्यसका शहीदहरूको समेत भूमिका रहेको बताए। उनले भने, ‘हामी एकपछि अर्को विभाजनतिर जाने श्रृंखला रोकेर एकताको एउटा नयाँ अभियानको सुरुवात गर्ने ठाउँमा आयौँ। यसको पछाडि जेन-जी आन्दोलनका शहीदहरूको पनि भूमिका छ भनेर म उहाँहरूलाई सम्मान गर्न चाहन्छु।’
उनले हजारौं युवाहरूलाई सडकमा ल्याएर भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा आवाज उठाएको भन्दै युवाहरूको प्रशंसा गरे। दाहालले अब बन्ने नयाँ पार्टीले युवाहरूको भावना र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर पार्टी र राज्य संरचनामा समेत उनीहरूलाई उच्च प्राथमिकता दिने संकल्प गरे।
दाहालले देश इतिहासकै सबैभन्दा ठूलो र असाधारण संकटबाट गुज्रिरहेको समेत बताए। उनले वर्तमान संकटलाई सुगौली सन्धि हुनुभन्दा अगाडिको राष्ट्रिय संकटसँग तुलना गर्दै भने, ‘नेपालको इतिहासमा सुगौली सन्धि हुनुअगाडिदेखि यहाँसम्म यति ठूलो राष्ट्रिय संकट पहिला कहिल्यै देखापरेको थिएन।’
उनले थपे, ‘राज्यविहीन जस्तो बन्न गयो। राष्ट्रका सयौँ-सयौँ वर्षदेखिका धरोहरहरू ध्वस्त भए, केही बचेन।’ यस्तो गम्भीर संकटबाट राष्ट्रलाई जोगाउनु राजनीतिक दल र आम नेपालीको मुख्य अभिभारा भएको बताउँदै उनले यो एकता केवल कम्युनिष्ट एकता मात्र नभएर राष्ट्रिय एकताको आधार तयार पार्ने र राष्ट्रिय स्वाधीनताको नयाँ अभियान सुरु गर्ने पहल भएको बताए।
प्रकाशित: १९ कार्तिक २०८२ १७:४५ बुधबार





