२०७२ असोज ३ मा जारी भएको नेपालको संविधानको भाग ६ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था गरिएको छ। नेपालको संविधानको धारा ६१ मा नेपालमा एक राष्ट्रपति रहने, राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने कुरा उल्लेख गरिएको छ।
राष्ट्रपति वा उपराष्ट्रपतिले संविधान र संघीय कानुनअनुसार आफ्नो कार्य सम्पादन गर्ने, नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने र उपधारा ४ मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनी लेखिएको छ।
नेपालको संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिको दुई कार्यकाल पूरा भई सकेपछि सक्रिय राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने कुरामा संविधान मौन छ। संविधानमा यस्ता अनेक कुरा स्पष्ट हुनु आवश्यक छ। भारतको संविधानको धारा ६१ मा राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने र दुई कार्यकाल पूरा गरेपछि स्वतः राष्ट्रपति वा उपराष्ट्रपतिका निम्ति अर्को प्रक्रिया सुरु गर्नुपर्ने कुरा उल्लेख छ। राष्ट्रपति वा उपराष्ट्रपति भइसकेका व्यक्ति पुनः सक्रिय राजनीतिमा आउन सक्छन् वा सक्दैन भन्ने कुरामा संविधान मौन छ।
भारतका केही राष्ट्रपति पाँच वर्ष कार्यकालमै बित्नुभयो भने केही अशक्त भएर निवृत्त हुनुभयो। सन् १९५० मा प्रथम राष्ट्रपति हुनुभएका राजेन्द्रप्रसादको दुई कार्यकाल पूरा गरी तेस्रो कार्यकाल पनि निरन्तरता दिँदै गर्दा सन् १९६३ मा ७८ वर्षको उमेरमा मृत्यु भयो। उहाँ सबैभन्दा बढी समयसम्म कार्यरत भारतको पहिलो राष्ट्रपति हुनुहुन्थ्यो।
सन् १७८९ मा संयुक्त राज्य अमेरिकाका पहिलो राष्ट्रपति ५७ वर्षका जर्ज वासिङ्टनको राष्ट्रपति पद त्याग गरेको दुई वर्षपछि ६७ वर्षको उमेरमा मृत्यु भयो। अमेरिकाको संविधानमा २२ औं संशोधन गरी कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी समय चार वर्षे कार्यकाल पूरा गरेपछि तेस्रो पटक राष्ट्रपति हुन सक्दैन भनी लेखिएको छ।
नेपालको संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकेको छ। सन् २००८ मा नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव ६१ वर्षको उमेरमा राष्ट्रपति हुनुभयो। उहाँले गणतान्त्रिक संविधान जारी गरेपछि आठ वर्षे कार्यकाल पूरा गर्नुभयो।
सन् २०१५ मा ५४ वर्षको उमेरमा विद्या भण्डारीले नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपति हुने सौभाग्य प्राप्त गर्नुभयो। सन् २०२३ मा उहाँले दोस्रो कार्यकाल पूरा गर्नुभयो। सन् २०२३ मा ८० वर्षका रामचन्द्र पौड्याल नेपालको तेस्रो राष्ट्रपति हुनुभयो।
मैले एक जना राष्ट्रपतिलाई व्यक्तिगत, एक जना राष्ट्रपतिलाई जनसेवा पुरस्कार ग्रहण गर्दा र वर्तमान राष्ट्रपतिलाई सामूहिक रूपमा शीतल निवासमा भेटेको हुँ। पुरस्कार वितरण समारोहमा शताब्दीपुरुष सत्यमोहन जोशी पनि हुनुहुन्थ्यो।
पूर्वराष्ट्रपतिले राजनीतिमा भाग लिनुहुन्छ कि हुँदैन भन्ने कुरा चर्चा चलेको छ। पूर्वराष्ट्रपति रामवरण यादवले एक अन्तर्वार्तामा संविधानमा यस सम्बन्धमा केही उल्लेख नगरिएको हुनाले राष्ट्रपतिको गरिमा कायम राख्नुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको छ।
बेलायतमा लिखित संविधान छैन। तर बेलायतीहरू आफ्ना मूल्य, मान्यता र राजनीतिक अनुशासन परिपक्व भएको हुनाले यस्तो विचारको अन्त्य भएको छ। बेलायत संवैधानिक राजतान्त्रिक मुलुक भएकाले प्रधानमन्त्री कार्यकारी प्रमुख हुने प्रावधान छ। नेपालमा संविधानमा यसको स्पष्ट व्यवस्था नहुनाले संविधान संशोधन आवश्यक छ।
राजनैतिक महत्त्वाकाङ्क्षा राख्नु स्वाभाविक हो। तर राष्ट्रपति भई सकेको व्यक्ति प्रधानमन्त्रीको प्रतिस्पर्धामा आएको उदाहरण कम पाइन्छ। नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला अमेरिकाको राजदूतका रूपमा राष्ट्रपति जोन एफ केनेडीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन जाँदा प्रधानमन्त्री भइसकेको व्यक्ति कसरी राजदूत हुनुभयो भनी प्रश्न गर्नुभयो। अब राष्ट्रपति भएको व्यक्ति प्रधानमन्त्री भएमा त्यस्तै प्रश्न आउन सक्छ भन्ने कुरामा सबै सचेत हुनुपर्छ।
प्रकाशित: १४ भाद्र २०८२ ११:२१ शनिबार




