२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ।

पार्टी स्थापनाको छोटो समयमै सङ्गठन विस्तारलाई तीव्रता दिएको रास्वपाले आफ्नो भविष्यको मार्गचित्र कोर्न र नयाँ नेतृत्व चयन गर्न महाधिवेशन आयोजना गरेको हो।

शनिबार आयोजित उद्घाटन सत्रको सञ्चालन पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरेका थिए। उद्घाटन सत्रमा पार्टीका सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ।

महाधिवेशनको उद्घाटन गर्दै महामन्त्री बुर्लाकोटीले देशको सर्वाङ्गीण उन्नति र विकासका लागि पार्टीले स्पष्ट योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘हामी देशको मुहार फेर्ने संकल्पका साथ अघि बढेका छौँ, यो महाधिवेशनले नेपाली राजनीतिमा नयाँ ऊर्जा र दिशा प्रदान गर्नेछ।’

उनले ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरूलाई स्वागत गर्दै पार्टीको लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आह्वान समेत गरे।

चितवनमा तीन दिनसम्म चल्ने यस महाधिवेशनले रास्वपाको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ। पार्टीले महाधिवेशनअघि नै आफ्नो विधानमा महत्वपूर्ण संशोधन गरिसकेको छ। 

संशोधित विधानको व्यवस्था अनुसार अब बन्ने नयाँ कार्यसमितिमा १९ जना पदाधिकारीसहित कूल १५८ जना केन्द्रीय सदस्यहरू रहनेछन्।

प्रकाशित: ७ असार २०८३ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App