१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

बोल्दै नबोल्ने बालेन: जसले मौनतालाई नै हतियार बनाएर देशको सत्ता समीकरण बदलिदिए

परम्परागत नेपाली राजनीतिको भाष्यलाई भत्काउँदै ‘काम गरेर देखाउने’ उद्घोषसहित उदाएका बालेन्द्र शाह अब औपचारिक रूपमै देशको कार्यकारी नेतृत्व सम्हाल्ने विन्दुमा आइपुगेका छन्।

शुक्रबार उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको १७ औं प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदैछन्। नेपाली राजनीतिको इतिहासमा युगान्तकारी अध्यायको सुरुवात गर्दैछन्।

बालेन्द्रको जन्म २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा भएको हो। उनी आयुर्वेद चिकित्सक डा. रामनारायण शाह र माता ध्रुवदेवी शाहका कान्छा छोरा हुन्। आफ्नो बाल्यकाल नरदेवीमै बिताएका उनी पछि परिवारसँगै काठमाडौंकै तीनकुनेस्थित गैरीगाउँमा सरेर त्यहीँबाट आफ्नो बसोबास गर्दै आएका छन्।

काठमाडौंको स्थायी वासिन्दा भएर हुर्किए पनि शाहको पुर्ख्यौली थात भने मधेस प्रदेशसँग जोडिएको छ। उनको पुर्ख्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्छ। उनको परिवारका सदस्य पूर्ण रूपमा काठमाडौं सरेपछि महोत्तरीमा रहेको उक्त पुर्ख्यौली घर हाल स्थानीय तहको कार्यालयका रूपमा प्रयोग हुँदै आएको छ।

शाहको शैक्षिक पृष्ठभूमि निकै अब्बल छ। उनले आफ्नो प्रारम्भिक शिक्षा नरदेवीस्थित जलजला माध्यमिक विद्यालयबाट सुरु गरेका थिए। त्यसपछि भीएस निकेतन कलेजबाट उच्च माध्यमिक तह पूरा गर्दै उनी काठमाडौंको ह्वाइट हाउस कलेजमा भर्ना भए। यहाँबाट उनले सिभिल इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरे।

उनी उच्च शिक्षा अध्ययनका लागि भारतसमेत पुगे। त्यहाँबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर हासिल गरे। निरन्तर सिकाइमा विश्वास राख्ने शाह पछिल्लो समय काठमाडौं विश्वविद्यालयबाट आफ्नो विद्यावारिधिको अध्ययन पनि अगाडि बढाइरहेका छन्।

पेशाले इन्जिनियर रहेका शाहले २०७२ सालको विनाशकारी भूकम्पका बेला आफ्नो प्राविधिक ज्ञानलाई समाजसेवामा लगाएका थिए। भूकम्पपछि उद्धार तथा पुनर्निर्माण कार्यमा उनी सक्रिय रूपमा सहभागी भएर देशका विभिन्न जिल्लाहरूमा पुगी इन्जिनियरका रूपमा कामको अनुभव र ग्राउन्ड रियालिटीको ज्ञान बटुलेका थिए।

यसबाहेक, बालेन्द्रको व्यक्तिगत जीवन पनि सन्तुलित छ। जनस्वास्थ्य क्षेत्रमा कार्यरत सविना काफ्लेसँग विवाह बन्धनमा बाँधिएका शाहका एक छोरी छन्।

युवापुस्ता माझ उनी राजनीतिकर्मी र इन्जिनियरभन्दा अगाडि बालेन नामको चर्चित हिप-हप र र्‍याप संगीतकारका रूपमा परिचित थिए। नेपाली हिप-हप संगीत क्षेत्रमा स्थापित कलाकारका रूपमा उनले आफ्ना गीतमार्फत समाजमा व्याप्त बेथिति, नीतिगत भ्रष्टाचार र राजनीतिक विकृतिविरुद्ध चर्को आवाज उठाएका थिए।

विद्यार्थी जीवनदेखि नै व्यवस्थामाथि प्रश्न गर्ने स्वभाव र विद्रोही सोचका कारण उनले परम्परागत राजनीतिक शैलीभन्दा पूर्ण रूपमा फरक र नविनतम विचारधाराको विकास गर्दै आएका थिए।

उनको राजनीतिक महत्त्वाकांक्षाको बिउ २०७४ सालको निर्वाचनमै देखिएको थियो। त्यतिबेला उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो निर्वाचनमा म कसैलाई भोट हाल्दिन, अर्को पटक हाल्छु, आफैंलाई हाल्छु। देश बनाउँछु, किनकि मलाई अरूप्रति भरोसा छैन।’

त्यतिबेला धेरैले यसलाई युवा आवेग मात्र मानेका थिए, तर उनले त्यसलाई २०७९ सालको स्थानीय तह निर्वाचनमा वास्तविकतामा परिणत गरेर देखाइदिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारका रूपमा देशकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिए।

प्रमुख ठूला दलका शक्तिशाली उम्मेदवारहरूलाई भारी मतान्तरले पराजित गर्दै उनले ऐतिहासिक जित हासिल गरे। मेयरका रूपमा उनको कार्यकाल निकै चर्चित र एक्सन ओरिएन्टेड रह्यो।

उनले महानगरमा सुशासन, पारदर्शिता, डिजिटल प्रणालीको अधिकतम प्रयोग, सडक व्यवस्थापन र अतिक्रमण गरिएका सार्वजनिक स्थानहरूको व्यवस्थापनमा केन्द्रित रहेर आफ्नो कार्यशैली प्रस्तुत गरे।

महानगरको नेतृत्वमा रहँदा उनका कामलाई धेरैले सकारात्मक परिवर्तनको र हिम्मतको प्रयास माने। विशेष गरी लामो समयदेखि मिचिएको टुकुचा खोलाको उत्खनन गर्ने अभियान, नक्सा पास नभएका अवैध संरचना भत्काउने कार्यदेखि लिएर सुकुम्बासी बस्ती हटाउनेसम्मका विषयमा उनले निकै साहसिक कदम चाले।

यद्यपि, यी कदमहरूका कारण उनले केही क्षेत्रबाट चर्को आलोचना र अवरोधको सामना पनि गर्नु पर्‍यो। तर, उनी आफ्नो अडानबाट कहिल्यै पछि हटेनन्।

काठमाडौं महानगरपालिकालाई एउटा निश्चित लयमा हिँडाएपछि शाहले राष्ट्रिय राजनीतिको फराकिलो मैदानमा उत्रिने निधो गरे। देशका अन्य भागहरूमा पनि सुशासनको प्रत्याभूति गराउने उद्देश्यसहित उनले २०८२ साल माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिए। राजीनामा दिएलगत्तै उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे।

रास्वपाले उनलाई आगामी प्रतिनिधि सभा निर्वाचन, २०८२ का लागि पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गर्‍यो।

प्रधानमन्त्रीको उम्मेदवार बनेपछि शाहले चुनाव लड्नका लागि रोजेको क्षेत्रले सिंगो देशलाई स्तब्ध बनाउने खाल्को थियो। उनले काठमाडौंको सुरक्षित क्षेत्र छाडेर झापा निर्वाचन क्षेत्र नं-५ बाट उम्मेदवारी दिने निर्णय गरे। यो त्यस्तो क्षेत्र थियो जहाँबाट चार पटकका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली निरन्तर चुनाव जित्दै आएका थिए।

शाहले झापा पुगेर एमाले अध्यक्ष ओलीलाई चुनौती दिए। ओलीले २०६४ सालको पहिलो संविधान सभा निर्वाचन बाहेक त्यसयता भएका सबै निर्वाचनमा उक्त क्षेत्रबाट एकछत्र विजय हासिल गर्दै आएका थिए।

२०७९ सालको आम निर्वाचनमा मात्र पनि ओलीले ५४,३१९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २८,५७६ मतको फराकिलो अन्तरले हराएका थिए। झापा-५ ओलीको अभेद्य किल्ला थियो।

तर, फागुन २३ गते प्रतिनिधि सभा निर्वाचनको आधिकारिक नतिजाले झापा-५ को इतिहास नै परिवर्तन भयो। निर्वाचन आयोगले बालेन्द्र शाह झापा–५ बाट निर्वाचित भएको घोषणा गर्‍यो।

बालेन्द्रले झापा-५ प्राप्त गरेको मत सबैलाई आश्चर्यचकित पार्ने खाल्को थियो। शाहले ६८,३४८ मत पाएका थिए। यो मत संख्या नेपालको संसदीय निर्वाचनको इतिहासमै हालसम्मकै सबैभन्दा बढी मत हो।

शाहको जितले यसअघि २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट केपी शर्मा ओलीले प्राप्त गरेको ५७,१३९ मतको कीर्तिमानलाई समेत सजिलै तोडिदियो। शाहले ओलीलाई ४९,६१४ मतको विशाल र फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरे।

झापाबाट कीर्तिमानी मतसहित निर्वाचित भएर आएपछि रास्वपाभित्र शाहको उचाइ अझै चुलियो। पार्टीको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले नै बालेन्द्र शाहलाई पार्टीको संसदीय दलको नेता बनाउने प्रस्ताव अघि सारे।

उक्त प्रस्तावलाई पार्टीले बिहीबार मात्र सर्वसम्मत रूपमा पारित गर्‍यो। संसदीय दलको नेता चयन भएसँगै बालेनलाई देशको कार्यकारी प्रमुख बन्ने बाटो पूर्ण रूपमा खुलेको छ। बिहीबारको शपथ ग्रहणपछि शुक्रबार उनले गणतन्त्र नेपालको १७ औं प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन्।

विद्रोही स्वभावका भए पनि बालेनमा कूटनीतिक र राजनीतिक संस्कारको भने राम्रै प्रभाव देखिन्छ। यसको श्रेय उनका राजनीतिक गुरु मानिने ललितपुरका पाका राजनीतिज्ञ नरसिंह व्यञ्जनकारलाई जान्छ।

व्यञ्जनकारबाटै शाहले राजनीतिमा संयम अपनाउने, शालीनता देखाउने र आफ्ना घोर विपक्षी वा आलोचकसँग पनि अत्यन्तै सम्मानजनक व्यवहार गर्ने संस्कार सिकेको जानकारहरू बताउँछन्। यही संस्कारका कारण उनी युवामाझ जति लोकप्रिय छन्। पाका पुस्ताले पनि उनलाई उत्तिकै सम्मान गर्छन्।

बालेन्द्र शाहको यो अभूतपूर्व उदय नेपाली समाजमा दशकौंदेखि जरा गाडेर बसेको राजनीतिक असन्तुष्टि, प्रमुख दलहरूको अकर्मण्यता र जनताको वैकल्पिक नेतृत्वको खोजीको प्रत्यक्ष परिणाम पनि हो। विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय रहेका शाहलाई जनताले काम गरेर देखाउने नेता र परिवर्तनको वाहकका रूपमा चिनेका छन्।

अब देशको कार्यकारी प्रमुखका रूपमा शाहसामु अवसर जति छन्, चुनौतीहरू त्योभन्दा कैयौं गुणा बढी छन्। देशमा सुशासन कायम गर्नु, थला परेको अर्थतन्त्रलाई आर्थिक सुधारमार्फत माथि उकास्नु, लाखौं युवाका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्नु, र दशकौंदेखिको राजनीतिक अस्थिरतालाई अन्त्य गरी राजनीतिक स्थायित्व कायम गर्नु उनका प्रमुख चुनौती हुन्।

उनको नेतृत्वले नेपाली राजनीतिमा एउटा नयाँ र सुनौलो अध्याय सुरु गर्ने आम अपेक्षा छ।

प्रकाशित: १२ चैत्र २०८२ २०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App